PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘च्याटजीपीटी’ निर्माता कम्पनी ‘ओपनएआई’ले बनायो एआई-लिखित सामग्री पत्ता लगाउने 'टूल', कत्तिको छ भरपर्दो?



पहिलोपोस्ट

‘च्याटजीपीटी’ निर्माता कम्पनी ‘ओपनएआई’ले बनायो एआई-लिखित सामग्री पत्ता लगाउने 'टूल', कत्तिको छ भरपर्दो?
Photo: Lionel Bonaventure/AFP/Getty Images

‘ओपनएआई’ कम्पनीले कुनै पनि कन्टेन्ट आर्टिफिसियल इन्टेलिजेन्सले लेखेको हो या होइन भनेर पत्ता लगाउन डिजाइन गरिएको एक 'टूल' विकास गरेको छ। तर, यो पूर्ण रूपमा विश्वसनीय नभएको कम्पनीले सजग पनि गराएको छ।

‘ओपनएआई’ भनेको ‘च्याटजीपीटी’ नामक आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्रामको विकास गर्ने कम्पनी हो। मंगलवार ब्लग पोष्टमार्फत ‘ओपनएआई’ले ‘च्याटजीपीटी’ मात्र नभई विभिन्न प्रकारका एआईले लेखेका र मानिसले लेखेका कुरा छुट्याउन तालिम दिइएको एउटा नयाँ 'क्लासिफायर टूल'को लिङ्क उल्लेख गरेको थियो।

‘ओपनएआई’का अनुसन्धानकर्ताहरूले ‘सबै एआई-लिखित पाठ भरपर्दो रूपमा पत्ता लगाउन असम्भव’ भए पनि राम्रो ‘क्लासिफायर’ले एआईले लेखेको हो भन्ने केही संकेतहरू इंगित गर्न सक्ने बताएका छन्। शैक्षिक सामग्री तयार पार्न प्रयोग गरिएका र मानवको रुपमा राखिएका एआई च्याटबटहरू फेला पार्न यो धेरै उपयोगी हुने उनीहरुले बताएका छन्।

तर, यो ‘क्लासिफायर’ ‘पूर्ण रूपमा भरपर्दो नभएको’ र एआई-लिखित अंग्रेजी टेक्स्टहरू २६ प्रतिशत मात्र सही रूपमा पहिचान गरेको अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन्। यस्तै, यसले ९ प्रतिशत मानव-लिखित टेक्स्टहरू एआईले लेखेको भनेर गलत रूपमा संकेत गरेको उनीहरुले बताएका छन्।

‘हाम्रो क्लासिफायरको विश्वसनीयता सामान्यतया इनपुट टेक्स्टको लम्बाइ बढ्दै जाँदा सुधार हुन्छ। हामीले पहिले जारी गरेका क्लासिफायरको तुलनामा यो नयाँ क्लासिफायर हालसालैका एआई प्रणालीहरूको टेक्स्टमा धेरै भरपर्दो छ,’ अनुसन्धानकर्ताहरूले भनेका छन्।

‘च्याटजीपीटी’ सार्वजनिक पहुँचका लागि खुला भएदेखि यसले परीक्षा वा मूल्याङ्कनमा ‘चिटिङ’ हुन सक्ने भन्दै विश्वभरका शैक्षिक संस्थाहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

बेलायतका प्राध्यापकहरूलाई उनीहरूको पाठ्यक्रमहरूको मूल्याङ्कन गर्ने तरिकाको समीक्षा गर्न आग्रह गरिएको भने केही विश्वविद्यालयहरूले यो प्रविधिलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुका साथै विद्यार्थीहरूलाई एआई प्रयोग गर्न रोक्नको लागि कलम र कागजबाट परीक्षा लिने विधिमा फर्केका छन्।

अस्ट्रेलियाको डिकिन युनिभर्सिटीकी एक लेक्चररले आफूले परीक्षण गरेका पाँचमध्ये एक ‘पेपर’ एआईको सहायतामा तयार पारिएको पाइएको बताइन्।

त्यसैले धेरै विज्ञान जर्नलहरूले पनि पेपरको लागि टेक्स्टमा ‘च्याटजीपीटी’को प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।

ओपनएआईले यो ‘क्लासिफायर टूल’मा धेरै सीमाहरू रहेको बताएको छ। जसमा एक हजार क्यारेक्टर भन्दा कम टेक्स्टको परीक्षणमा विश्वसनीय नहुनुका साथै केही मानव-लिखित टेक्स्टलाई एआई-लिखितको रूपमा गलत पहिचान गरिएको लगायत रहेका छन्। यो केवल अंग्रेजी टेक्स्टको लागि मात्रै प्रयोग गरिनु पर्ने अनुसन्धानकर्ताहरूले भनाइ छ। अन्य भाषाहरूमा यसले ‘उल्लेखनीय रूपमा खराब’ परीक्षण गरेको र कोड जाँच गर्नमा पूर्ण रुपमा असमर्थ रहेको उनीहरुले बताएका छन्।

‘यसलाई अन्तिम निर्णयकै लागि भने प्रयोग गर्न मिल्दैन। तर टेक्स्टको स्रोत निर्धारण गर्ने अन्य विधिहरूको पूरकको रूपमा भने प्रयोग गर्न सकिन्छ,’ ओपनएआईले भनेको छ।

‘ओपनएआई’ले शैक्षिक संस्थाहरूलाई कक्षाकोठामा ‘च्याटजीपीटी’को प्रयोगको आफ्ना अनुभवहरू सेयर गर्न आह्वान समेत गरेको छ।

अधिकांशले एआईलाई प्रतिबन्ध लगाइरहँदा केहीले भने एआईलाई नै आत्मसाथ गरेर अघि बढ्ने निर्णय गरेका छन्। गत महिना दक्षिण अस्ट्रेलियाका तीन मुख्य विश्वविद्यालयहरूले स्रोत खुलाएर ‘च्याटजीपीटी’ जस्ता एआईको प्रयोग गर्न अनुमति दिने गरी आफ्ना नीतिहरू अद्यावधिक गरेका थिए।

द गार्डियनमा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell