काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ को जुरीमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छिन्। प्रियंकासँगै माया एकेडेमीका इन्द्र लाल बलामी समेत जुरीमा रहनेछन्।
आउँदो चैत २ देखि ६ गतेसम्म हुने निफको जुरी कमिटीमा दुईजना नेपालीलाई मनोनित गरिएको छ। ‘निफ’को जुरीमा प्रियंका फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएको निफले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र लाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन्।
यस वर्षको संस्करणमा ५५ देशबाट ५०० बढी फिल्महरु प्रतिस्पर्धामा सहभागी भएका थिए। जसमध्ये ३५ देशका ९५ मात्रै फिल्महरुलाई यसपटकको छनोट गरिएको छ। ‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुलाई सात विधामा १४ पुरस्कार दिइनेछ।