काठमाडौं : सुनको मूल्य एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्दै आजसम्मकै उच्च मूल्य कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको बजार मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
बुधवार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। बिहीवार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैयाँ थियो।
बिहेको लगनका कारण बजारमा सुनको कारोबार बढ्न थालेसँगै मूल्य पनि थप महँगो हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीवार सुन प्रतिऔंस १९५३.४९ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.१८ डलरमा कारोबार भइरहेको छ।