काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई भन्न र लेख्न केही भए आजै भनिसक्न र लेखिसक्न बताएका छन्। नागरिकता विवादमा सर्वोच्चका फैसलाका कारण मन्त्रीदेखि सांसद पद गुमाएका लामिछानेमाथि पछिल्लो दिन आलोचना बढेको छ।
यही विषयमा मिडियामा पनि उनको चर्चा चुलिँदो छ। आलोचना बढेपछि लामिछानेले भोलिबाट मौनता तोड्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफू अभिमन्यु नभएको उल्लेख गर्दै उनले भनेका छन् : अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
रविले चेतावनी दिइरहँदा उनले आजै दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन्। बैठक केन्द्रीय कार्यलय बसुन्धरामा हुनेछ।