PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्डलाई ओलीको चेतावनी : एकतर्फी निर्णय गरेर गृह रास्वपालाई नदिए अप्ठेरो हुन्छ, गृहराज्य मन्त्री दिए कांग्रेस सरकारमा आउँछ



पहिलोपोस्ट

प्रचण्डलाई ओलीको चेतावनी : एकतर्फी निर्णय गरेर गृह रास्वपालाई नदिए अप्ठेरो हुन्छ, गृहराज्य मन्त्री दिए कांग्रेस सरकारमा आउँछ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष केपी शर्मा ओलीबिच मतभेद देखिएको छ। गठबन्धनमा रहेको सबैभन्दा ठुलो दल नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली र दाहालबिच गृहमन्त्रालय कसलाई दिने भन्नेबारेमा फरक-फरक विचार सार्वजनिक भएको हो।

मंगलवार प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्न आफूलाई सुझाव आएको बताएका थिए। तर बिहीवार विराटनगर पुगेका ओलीले प्रचण्डको ठीक विपरित धारणा व्यक्त गरेका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले अदालतको पूर्ण पाठको आवश्यकता नै नभएको बताउँदै प्रचण्डलाई 'काउन्टर' दिन लागेका हुन्। 

नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने प्रतिनिधि सभा सदस्यका लागि अयोग्य भएको फैसला गरेको थियो। सत्ता गठबन्धनमा खटपट नआएको, राष्ट्रपतिमा एमालेको उम्मेदवारमै गठबन्धनमा सहमति हुने दाबी गरेका ओलीले नेपालीक कांग्रेसप्रति भने आक्रोश व्यक्त गरे।

के-के भने ओलीले?

सुरुमै पत्रकारले ओलीलाई सरकार संकटमा परेको हो? भन्दै प्रश्न गरेका थिए। ओलीले सरकार संकटमा नपर्ने बताए। तर, अस्थिरता प्रणालीमा भएको ओलीको भनाइ थियो।

‘यो सरकार संकटमा पर्छ जस्तो लाग्दैन। एक ढंगले भन्ने हो भने प्रणालीमै अस्थिरता छ। मैले निर्वाचन लगतै भनेको थिए असाधारण अस्थिरतामा देश छ,’ ओलीले भने।

ओलीले लोकतन्त्रमा सरकार बढी अस्थिर भएको बताए। उनले २००७ साल यताको कुनै पनि सरकार ५ वर्ष नचलेको भन्दै प्रणालीमा समस्या देखिएको बताएका थिए। 

‘नेपाल अहिले पनि स्थिरतामा जानै पाएन। राणा शासन हुँदाखेरी जहाँनिया शासन चल्नु एउटा कुरा हो। तर जब जब डेमोक्रेसी भन्यो तब बढी अस्थिरता भएको छ। २००७ राणा शासन हटेपछि कुनै पनि सरकार ५ वर्ष सरकार चलेको छैन्,’ ओलीले भने। 

ओलीले अस्थिरतामा जोड दिएपछि पत्रकारले अर्को प्रश्न गरे : निर्वाचन प्रणाली कि शासन प्रणालिमा समस्या छ?

ओलीले निर्वाचन प्रणालीमा समस्या नभएको बताए । भने : निर्वाचन प्रणालीको कुरा होइन कुरा शासन प्रणालिको  हो। मुख्य कुरा लोकतन्त्र प्रमुख कुरा हो। लोकतन्त्रलाई कसरी परिष्कृत र संस्थागत गर्न सकिन्छ।

ओलीले शासन प्रणालीमा समस्या भएको बताएपछि उनलाई संविधान संसोधनबारे प्रश्न सोधिएको थियो। तर, संविधान संशोधनको बेला नभएको तर्क ओलीले गरे।

‘संविधान भनेको संशोधन हुनै नसक्ने कुरा होइन। तर, अहिले नै संविधान संशोधनको चर्चा गरिहाल्ने बेला भएको छैन। भर्खर चुनाव भएको छ। भर्खर सरकार गठन भएको छ। सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको छ। केही केही कुराहरु लोकतन्त्रका विरुद्धका षडयन्त्र पनि भइरहेका छन्। त्यसबाट नेपाली जनता सजग हुनुपर्छ,’ उनले भने।

त्यसपछ प्रसंग फेरेर पत्रकारले सोधे : राष्ट्रपतिको विषयमा कांग्रेसको अडान छ नि?

कांग्रेसप्रति भने ओली आक्रामक भए। उनले कांग्रेसमा संस्कार नै नभएको बताए। 

‘कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको हो। तर कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिन्छु भन्नु, हामीले राष्ट्रपति पाउँछु भन्नु अनौठो कुरा होइन,’ उनले भनेका छन्। 

त्यसो भए राष्ट्रपतिमा एमालेको उम्मेदार हुन्छ कि सत्तापक्षको हुन्छ? भन्ने प्रश्न तेर्सियो।

ओलीले एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुने दाबी गरेका छन्। ‘एमालेको उम्मेदवार भनेको सत्ता पक्षको हुन्छ। एमालेको उम्मेदवार भनेको अहिलेको नयाँ समीकरणको उम्मेदवार हो,’ ओलीले भने।

लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहालले चाहिरहेका छैनन्। जसकारण लामिछानेको लगातारको दबाब काम लागिरहेको छैन। यसबिच ओलीले गृहमन्त्रालय रास्वपाले नै पाउनुपर्ने बताएका हुन्।

‘सहमति के भएको हो थाहा भएकै छ। कुन कुन पार्टीले के के लिने सहमति भएकै छ। रास्वपाको उपप्रधान मन्त्री सहित गृहमन्त्री लिने सहमतिका साथ भएको हो त्यसै अनुसार जानुपर्छ,’ ओलीको भनाइ छ।

कांग्रेसप्रति आक्रामक ओलीले गृहराज्यमन्त्री दिए सरकारमा आउने बताए।

‘कांग्रेसलाई गृहराज्यमन्त्री दिए सरकारमा आउँछ,’ उनले भने।

सहमति अनुसार नभएजस्तो यहाँलाई महसुस भएर खटपट भएको हो? भन्ने प्रश्नमा ओलीले भनेका छन् : छलफल भइरहेको छ खटपट भन्ने होइन। कुन कसलाई गृहमन्त्रालय बनाउँछु भन्ने कुरा हामीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएका हौं। उनीहरुलाई गृहमन्त्रालय नदिने। एकतर्फी रुपमा छुट्टै ढंगको निर्णय हुने कुराले अप्ठेरो पैदा गर्छ। त्यसो भएकै छैन।

अदालतको पूर्ण पाठ नआइ हुदैँन भन्ने कुरा आएको छ? भन्दै ओलीलाई गरिएको प्रश्नमा ओलीले भने उल्टै प्रतिप्रश्न गरेका छन। 

‘पूर्णपाठ किन चाहियो? कण्ठ गर्ने हो अदालतको पूर्णपाठ। किन चाहियो?,’ ओलीले भने, ‘ कसलाई गृहमन्त्री बनाउँने भन्ने कुरा त रास्वपाको कुरा हो। हामीले त्यो मन्त्रालय रास्वपालाई दिएका हौं। पहिला रास्वपाले रवि लामिछानेजिलाई बनायो। फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो।’



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell