PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली राजनीतिमा ७ अंकको संयोग र रवि लामिछाने



पहिलोपोस्ट

नेपाली राजनीतिमा ७ अंकको संयोग र रवि लामिछाने

  • सुरेशचन्द्र रिजाल –

नेपाली इतिहास पल्टाउने हो भने अन्तिममा ७ अंक कोही कसैलाई पनि शुभ फापेको देखिँदैन।

अनुसन्धान र खोजकर्ताहरूले विभिन्न समयका घटनाहरूलाई महत्त्वका साथ हेर्ने गर्दछन्। यसै क्रममा ज्योतिष तथा खगोलशास्त्रीहरुले पनि यस्ता घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन गरेका हुन्छन्। पृथ्वीमा भएगरेका हरेक प्रकारका सानाठूला घटनाको पछाडि खगोलीय अवस्था पनि जोडिएको हुन्छ। विश्वमा हुने हरेक प्रकारका परिवर्तनका पछाडि आकाशीय पिण्डहरूको पनि प्रमुख भूमिका रहने ज्योतिषीहरुले जानकारी गराएका छन्।

ज्योतिष शास्त्रमा अंक विज्ञानको पनि प्रमुख महत्त्व रहिआएको छ। हरेक अंकले ग्रहहरूलाई नियममा राख्न मद्दत गरिरहेको हुन्छ। राहु र केतु ग्रहलाई छाडेर बाँकी सात वटा ग्रहहरूको आधारमा ब्रह्माण्डीय संरचना निर्माण भएको हो। सात ग्रहको नामले बारको रचना भएको छ, जुन विश्वका हरेक देशमा यहीँ नियममा दिनचर्या नियमित हुन्छ। देशमा पछिल्लो पटक ७ दलीय गठबन्धनबाट बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सुरुवाती समयदेखि नै असहज परिस्थितिबाट अगाडि बढ्दै गएकाले ७ अंकलाई संयोगमात्रै नभएर नफापेको रुपमा सिद्धान्त ज्योतिष अन्तर्गत अंक ज्योतिषमा विशेष रुपमा हेरिएको छ।

७ अंकबाट उदाएका रवि लामिछाने २०७९ माघ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा नै उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिन नसकिने बताएपछि लामिछानेले सरकारलाई दिइएको समर्थन फिर्ता लिने अभिव्यक्तिले पुनः नेपाली राजनीतिमा नयाँ मोड देखिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसको स्थापना २०७९ असार ७ गते भएको थियो। उक्त पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भए सँगै आधिकारिकता प्राप्त गर्‍यो। रास्वपाले मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि निर्वाचनमा प्रत्यक्ष तर्फ ७ सिट जित्न सफल भयो। सबैको नजरमा भाग्यमानी बन्यो रास्वपा। उम्मेदवारी दर्ता गर्दा ४७ वर्ष पुगेका रविका लागि नेपालको राजनैतिक इतिहासमा नफापेको ७ नम्बर(रास्वपा)लाई बरदान नै बन्न पुग्यो।

फलत: ७ दलको गठबन्धनबाट सभापतिसमेत रहेका रवि लामिछाने मुलुकको उपप्रधानसहित गृहमन्त्रीका रुपमा उदाए। ३२ दिनभित्रै नागरिकको विषयमा लामिछानेले गृहमन्त्रीको जिम्मेवारी र सांसद् पदसमेत गुमाउनुपरेको छ। व्यक्तिगत रुपमा रवि लामिछानेसहित उनको पार्टीलाई भाग्यमानी बनेको ७ अंक सत्तामा पुग्ने बित्तिकै अफापसिद्ध भएको छ त्यो पनि ७ दलीय गठबन्धन सरकारमा सहभागी हुँदा।

विक्रम संवत् २००७, २०१७, २०२७, २०३७, २०४७, २०५७, २०६७ र २०७७ मा हरेक प्रकारका घटनाका पछाडि वर्षको अन्त्यमा सात अंकसँग जोडिएकाले सर्वत्र चासो देखिएको हो। ज्योतिषमा ७ नम्बरलाई शक्तिशाली नम्बरको रूपमा हेरिने गरेको छ। सात जना ऋषिहरूको समूहलाई सप्त ऋषि भनेर शक्तिका रूपमा पूजा गरिन्छ। ठूलाठूला नदीहरूको समूह मिसिएर बनेकोलाई सप्त सागरका रूपमा मानेर पूजा गरिनु, बारको हिसाबले पनि अन्तिममा सात बारसम्म मात्रै हुनु आदिले गर्दा पनि खगोल शास्त्रमा ७ नम्बरको महत्त्व विशेष रूपमा हेरिने गरेको छ।

अंक ७ शुक्र ग्रहले प्रतिनिधित्व गर्ने भएकाले शास्त्रमा शुक्र ग्रहलाई भोग, विलास, यश, आराम, नाट्य कला, चतुर्या भइँ आदिको प्रतिनिधित्व गर्ने ग्रहको रूपमा शुक्र ग्रहलाई लिने गरिन्छ। जुन राक्षसहरूको गुरुका रूपमा पनि पूजा गर्ने गरिन्छ, यस्तो शक्तिशाली ग्रहले सञ्चालन गर्ने सात अंक अन्तिममा आउँदा देशमा कस्ताकस्ता राजनीतिक परिवर्तन भए त?

विसं २००७ सालमा पनि अन्तिममा ७ अंक आएको छ, २०७७ सालमा पनि व्यापक राजनीति परिवर्तन भयो। विशेषगरी राणाकालीन शासनको अन्त्य भएको घोषणा फागुन ७ गते भएपछि राजा त्रिभुवनले देशमा प्रजातन्त्रको घोषणा गरेका थिए।

२००७ सालको आन्दोलनलाई नेपालको प्रजातान्त्रिक आन्दोलन भनेर पनि भन्ने गरिएको छ। तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नेतृत्वमा नयाँ दिल्लीमा राणा, नेपाली कांग्रेस तथा राजाबिच त्रिपक्षीय सम्झौता भएपछि उक्त आन्दोलन रोकिएको थियो। २००७ साल पनि नेपाली राजनीतिमा ऐतिहासिक रूपमा लिइएको छ।

२०१७ सालको राजनीतिक गतिविधिलाई हेर्ने हो भने पनि तत्कालीन राजा महेन्द्रले पुस १ गते प्रजातन्त्र विघटन गरि पञ्चायती व्यवस्था लागू गरेका थिए। २०२७ सालमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घको स्थापना भएको थियो। २०३७ साल वैशाख २० गते नेपालमा अर्को राजनीति घटना भएको थियो। उक्त समयमा बहुदलीय व्यवस्था अथवा सुधारिएको पञ्चायती व्यवस्था भन्ने बारे जनमतसंग्रह भएको थियो। यसले पनि नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको थियो।

२०३७ सालमै नेपाललाई ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो। २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा नेपालको संविधान २०४७ जारी भएको थियो। यसैगरि, २०५७ सालमा कृष्णप्रसाद भट्टराईको राजीनामापछि गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।

यसपछि २०६७ मा कांग्रेसका एक मात्र जीवित संस्थापक पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भयो। यसपछि २०७७ साल लागेसँगै राजनीतिमा तरङ्ग पैदा सुरु भएको थियो। एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राजनीतिक दल तथा संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गराएपछि राजनीतिमा तरङ्ग पैदा गराएको हो। २०७७ पुस ५ मा पुनः अर्को राजनीति दुर्घटनामा हुन पुग्यो र अहिलेसम्म प्राप्त उपलब्धिलाई गुमाउनुपर्ने अवस्था आएको छ। त्यस्तै मंसिर ४ मा सम्पन्न निर्वाचन पछि ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई कत्तिको शुभ हुन्छ समयले बताउँदै जानेछ।

- रिजाल ज्योतिष तथा वास्तुविद् हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell