PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जीतपुर बजारको १६२ सरकारी सटरमा बिचौलियाको रजाइँ, झन्डै एक करोड भाडा कहिले उठ्छ?



राधेश्याम पटेल

जीतपुर बजारको १६२ सरकारी सटरमा बिचौलियाको रजाइँ, झन्डै एक करोड भाडा कहिले उठ्छ?

वीरगंज : बाराको जीतपुर सिमरा उपमहानगरको वडा ७ स्थित जितपुर बजारमा उपमहानगरको १६२ वटा सटर छन्। तत्कालीन आदर्श गाविसले निर्माण गरेको सटरको भाडा उपमहानगरले २०७४ मा बढाएर प्रतिसटर ८ हजार पाँच सय तोक्यो।

गाविसले प्रतिसटर एक हजार ६०० देखि एक हजार ९०० सम्म भाडा निर्धारण गरेकोमा उपमहानगरले एकैचोटि भाडा बढाउँदा व्यवसायीले विरोध गरे। आन्दोलन नै भयो भाडा घटाउन। तर व्यवसायीको आवाजको सुनुवाई भएन।

सटर लिएकाहरु पनि के कम?

भाडा तिर्नै छाडिदिए।

भाडा बक्यौता धेरै भएपछि उपमहानगरका प्रमुख राजन पौडेलले भाडादर कम गरे र र पुस मसान्तसम्म बक्यौता बुझाउनेलाई पाँच प्रतिशत छुटको व्यवस्था गरे।

आव २०७६/७७ देखि हालसम्म एक करोड १२ लाख बक्यौता रहेकोमा छुटको घोषणापछि १६ वटा पसलले करिब १६ लाख रुपैयाँ बुझायो। अहिले जितपुर बजारको सटर भाडा ९६ लाख बक्यौता छ। उपमहानगरको राजस्व शाखा प्रमुख राज शर्माका अनुसार अझै १६२ जनासँग ९६ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ।

राजनको एक्सनपछि थाल्यो बक्यौता उठ्न

तत्कालीन आदर्श गाविस भवानीपुर जीतपुर हुँदा १६२ वटा सटर निर्माण गरिएको थियो। सटर भाडा लिने प्रत्येकसँग त्यति बेला तत्कालीन गाविस सचिव आसमहमद मियाँले दुई लाख ५० हजार धरौटी लिएर सटर भाडामा दिएका थिए। त्यतिखेर प्रतिसटरको भाडा एक हजार ६०० देखि एक हजार ९०० सम्म तोकिएको थियो। २०७४ सालमा जीतपुरसिमरा उपमहानगर घोषित भएपछि त्यतिखेरका प्रमुख डा. कृष्ण पौडेलले १६२ वटा सटरको भाडा वृद्धि गरेका थिए। उनले प्रतिसटर आठ हजार पाँच सय तोकेका थिए। त्यतिखेर व्यापारीहरूले आन्दोलन गरेर भाडा कम गर्न दबाव दिएका थिए तर न भाडा घट्यो, न व्यापारीले भाडा तिरे।

त्यसपछि २०७९ सालमा उपमहानगरको प्रमुख भएका राजन पौडेलले पहिलो बैठकमा १६२ वटा सटरको तीन तहमा वर्गीकरण गरेर भाडा तय गरे। अगाडि रहेका सटरको भाडादर तीन हजार ९ सय, भित्रपट्टी रहेका सटरको दुई हजार ५०० र सबैभन्दा पछाडिको सटरको दुई हजार २ सय कायम गरे। यो दररेट कायम भएपछि अहिले पुस मसान्तसम्म १६ जनाले १६ लाख बक्यौता तिरेका हुन्।      

सटर उपमहानगरको, कमाइ बिचौलियाको

१६२ वटा सटर उपमहानगरको हो। तर कमाई भने बिचौलियाहरूले गरिरहेका छन्। उपमहानगरसँग कम भाडादरमा सटर लिएर उनीहरूले व्यापारीहरूसँग मोटो रकम असुलिरहेको स्रोतको दाबी छ।

बिचौलियाहरूले उपमहानगरपालिकाले तोकेको भाडाभन्दा कैयन गुणा बढी भाडा लिइरहेको सटर लिएकाहरु बताउँछन्। सबैभन्दा बढी भाडा करिब चार हजार भए पनि बिचौलियाले १० देखि १५ हजार रुपैयाँसम्म भाडा लिने गरेको एक व्यापारीले बताए।

तत्कालीन गाविसले निर्माण गरेको यी सटरमध्ये तीनवटा सटर भाडामा लिँदा वडा नं ७ का अशोक साह रौनियारले प्रतिसटरबापत दुई लाख ५० हजार गाविसमा धरौटी राखेका थिए। उनले प्रमोद साह तेलीलाई १२ लाख धरौटी लिएर एक सटर भाडामा दिएका थिए। तेलीले पनि १५ लाख धरौटी लिएर सन्दीप गुप्तालाई एक वटा सटर दिएको स्रोतले जनाएको छ।

यसैगरी, १६२ वटा सटरमध्ये २५ प्रतिशत व्यापारीले मात्र उपमनपाले तोकेको दररेटमा सटरमा व्यापार गरिरहेका छन्। बाँकी सटरवालाहरू बिचौलियामार्फत छन्। यस्तो समस्याबाट उपमहानगरसमेत आजित छ। त्यसैले उपमनपाको राजस्व फाँटका प्रमुख शर्माले आगामी वर्षदेखि बडाबड प्रक्रियाबाट सटर भाडामा लगाउने तयारी गरेको दाबी गरे। सटरबाट नगरपालिकालाई एक त मुनाफा नभएको र बिचौलियका कारण बदनाम बढी हुन थालेकोले अब सटर भाडा बढाबढबाट लगाउने तयारी गरेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell