PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

भारतमा स्मार्टफोन सस्तिएपछि नेपालमा 'ग्रे मार्केट' मौलाउने खतरा



पहिलोपोस्ट

भारतमा स्मार्टफोन सस्तिएपछि नेपालमा 'ग्रे मार्केट' मौलाउने खतरा

काठमाडौं : भारतमा मोबाइलको मूल्य सस्तिने भएपछि नेपालमा 'ग्रे मार्केट' (अनधिकृत बजार) झन् मौलाउने भएको छ। भारत सरकारले बजेटमार्फत मोबाइल फोनको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न केही पार्ट्सहरुको आयातमा भन्सार दर घटाउने निर्णयले नेपालमा असर पर्ने भएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२३/२४ को बजेटबाट स्वदेशी मोबाइल उत्पादन उद्योगहरुलाई राहत दिने घोषणा गरेकी थिइन्। जसका कारण अब भारतमा मोबाइल फोनको दाम सस्तिने छ।

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले भारतीय व्यवस्थापछि नेपाल तर्फ स्मार्टफोनको चोरीपैठारी झनै बढ्ने बताए। अहिले नेपाल र भारतमा स्मार्टफोनको मूल्य बराबर जस्तै रहेको उनले बताए। तर, भारतको तुलनामा नेपालमा स्मार्टफोनमा लाग्ने कर बढी छ।

‘भारतमा अहिले स्मार्टफोनमा १२ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) लाग्छ। नेपालमा भने १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार महशुल गरि कुल १८ प्रतिशत कर तिर्नुपर्छ। अहिले पनि हामी भारतको तुलनामा बढी नै छौं,’ मल्होत्राले भने, ‘त्यही भएर नेपाल तर्फ स्मार्टफोनको चोरीपैठारी धेरै भइरहेको छ। भारतको बजेटपछि अहिलेको मूल्यमा स्मार्टफोनको भाउ घट्ने हो। झन् मूल्य घटेपछि चोरीपैठारी अझै बढ्छ।’

मल्होत्राले भारतीय कदम र चोरीपैठारीलाई मध्यनजर गर्दै नेपालले पनि स्मार्टफोनमा लगाउने कर परिमार्जन गर्नुपर्ने अवस्था आएको दाबी गर्छन्। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण कार्यान्वयनमा नलगाउँदा अवस्था झन् विकराल हुने मल्होत्राले बताए। एमडीएमएस लागू गरेको भए भारतमा कर घट्दा पनि नेपालमा धेरै असर नपर्ने उनले तर्क गरे।

‘भारतसँग हाम्रो खुला सीमा छ। स्मार्टफोनको मूल्यमा फरकपना परेसँग चोरीपैठारी बढ्छ। भारतको बजेटले स्मार्टफोनमा ल्याएको नीतिले नेपाली स्मार्टफोन बजारमा पक्कै नकारात्मक प्रभाव पर्छ,’ मल्होत्राले भने।

सरकारले ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने स्मार्टफोन आयातमा प्रतिबन्ध लगाउँदा जसरी अवैध आयात भएको थियो, त्यही अवस्था दोहोरिने स्थिति आउनेमा व्यापारी चिन्तित बनेका छन्। खुला सीमाका कारण भारतीय बजारमा स्मार्टफोन सस्तो पर्ने भएपछि नेपालमा भारतीय बजारबाट भित्रिने अवैध फोन छ्याप्छ्याप्ती हुने व्यवसायी बताउँछन्।

भारतले बजेटमार्फत चरणबद्ध उत्पादन कार्यक्रम अन्तर्गत स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न घोषणा गरेको छ। सन् २०१४/१५ मा भारतले १८ हजार ९०० करोड भारु मूल्य बराबरको ५.८ करोड थान फोन उत्पादन गरेको थियो। गत आर्थिक वर्षमा भने भारतले २ लाख ७५ हजार करोड मूल्य बराबरको ३१ करोड थान फोन उत्पादन भएको थियो।

स्मार्टफोन जस्तै अवस्था टेलिभिजनमा पनि देखिने व्यापारीहरुले बताएका छन्। भारतमा टीभी सस्तो पर्दा अवैध आयात भएर नेपाली बजारमा असर पर्ने अवस्था रहेको रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सन्जय अग्रवालले जानकारी दिए।

‘भारतीय बजेटले भारतमा टेलिभिजन सेट सस्तो पर्छ। हामीले त्यही सामान अब नेपाल झिकाउँदा केही सस्तो पर्छ। तर, त्यही मोडल (ग्लोबल भर्सन) हामीले चीन वा अन्य देशबाट आयात गर्दा अब महँगो पर्छ। यसले असर पक्कै पर्छ। अब नेपाली बजारमा टीभीको ग्रे मार्केट देखापर्न सक्ने धेरै जोखिम छ,’ अग्रवालले भने, ‘भारतमा सस्तो हुँदा यसले हामीलाई फाइदा खासै हुँदैन। यसले चोरीपैठारीलाई नै बढावा दिने देखिन्छ।’

भारतले बजेटमार्फत त्यहाँ उत्पादन हुने टीभी प्यानलको ओपन सेल्सको भन्सार महशुल २.५ प्रतिशतमा सीमित गरेको छ। यही प्रावधानका कारण भारतमा टीभीको मूल्य घट्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell