काठमाडौं: ‘मिस नेपाल-२०२३’ को औपचारिक घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच आयोजक संस्था द हिडन ट्रेजरले घोषणासँगै डिजिटल आवेदन खुला गरिएको हो।
चैत १ गतेसम्म डिजिटल अडिसन खुला रहने द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए। प्रतियोगिले ‘मिस नेपाल’ को एपमार्फत आवेदन दिन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउन आयोजकले पहिलोपटक ‘मिस नेपाल’ एप सञ्चालनमा ल्याएको हो।
२०८० सालको जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने भएको छ। यस वर्षको फिनालेमा पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल चुनिनेछ।
यसवर्ष पनि सातै प्रदेशमा अडिसन आयोजना गरिनेछ। काठमाडौंको अडिसन १५ मार्चमा आतिथ्य साझेदार होटलमा हुनेछ। त्यस्तै, इटहरी वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायत क्षेत्रिय अडिसनहरु मार्च १५ भित्रै हुने बताइएको छ। प्रतियोगितामा भाग लिनको लागि आवेदनको शुल्क लाग्ने छैन।
पोखरामा मिस नेपालको रिक्रिएसनल कार्यक्रम आयोजना गरिने छ। आगामी भविष्यमै उपत्यकाबाहिर ग्राण्ड फिनाले गर्न सकिने योजनाका साथ पहिलोपटक काठमाडौंबाहिर यस्तो कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ।
मिस नेपाल प्रतियोगितमा न्युनतम ५ फिट ३ इन्च उचाइ हुनुपर्नेछ। १८ वर्षदेखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन्।
कार्यक्रममा ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशीसहित ‘मिस नेपाल अर्थ २०२२’ सरिशा श्रेष्ठ र ‘मिस नेपाल इन्टरनेसनल २०२२’ न्यान्सी खड्काले आफ्ना अनुभव सेयर गरे।
सरिशाले गत वर्षको मनिला, फिलिपिन्समा भएको मिस अर्थ २०२२ मा सहभागी भएकी थिइन्। मिस अर्थमा बेस्ट इको भिडियो (एसिया) जित्दा निकै खुसी लागेको सरिशाले बताइन। त्यसैगरि, न्यान्सीले पनि जापानको टोकियोमा भएको मिस इन्टरनेसनल २०२२ मा सहभागी हुँदा उपाधि नजितेपनि धेरै कुरा सिक्न पाएको सुनाइन्।
त्यस्तै, मिस नेपाल वर्ल्ड प्रियंका रानीले आउँदो मे महिनामा हुने ‘मिस वर्ल्ड’ को तयारीमा रहेको बताइन्। कार्यक्रममा प्रियंकाले ब्युटी विथ पर्पज प्रोजेक्टको टिजर सार्वजनिक गरिन्।