PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

विवादपछि बोर्डको स्पष्टीकरण : सूर्य कर्पोरेसनलाई व्यवस्थापकीय जिम्मेवारी मात्रै दिएका हौँ



पहिलोपोस्ट

विवादपछि बोर्डको स्पष्टीकरण : सूर्य कर्पोरेसनलाई व्यवस्थापकीय जिम्मेवारी मात्रै दिएका हौँ

काठमाडौं : पछिल्लो समय चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ विवादित छ। ‘महापुरुष’ टिमले आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै बहिष्कार गरेसँगै विवादमा तानिएको हो।

विवादबिच बोर्डले कार्यक्रमको अन्तिम कार्यक्रम तालिका सार्वजनिक गरेको छ। बोर्डले यूएईमा माघ २९ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गर्न लागेको फिल्म ‘ऐना झ्यालको पुतली’ र फिल्म ‘कबड्डी ४’ प्रदर्शन हुने बताइएको छ।

‘यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको र बुसान फेस्टिभलमा आधिकारिक छनोट भएको कारण नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’लाई प्रदर्शन गर्न लागिएको हो। त्यस्तै, नेपाली चलचित्रको बक्स अफिस इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेको फिल्म भएको कारण ‘कबड्डी ४’ प्रदर्शन हुन लागेको हो,’ विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ मुख्य नारासहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको बोर्डले उल्लेख गरेको छ। फेस्टिभल गर्नको लागि संचार मन्त्रालयले यसअघि नै ३० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । 

साथै, बोर्डले फेस्टिभलको व्यवस्थापकीय जिम्मा सूर्य कर्पोरेसन प्रालिलाई दिएको छ। आफूहरुले सूर्य कर्पोरेसनसँग सहकार्य गरेको नभई व्यवस्थापकीय जिम्मेवारी मात्रै प्रदान गरेको बोर्डले स्पष्ट पारेको छ।

२०७९ माघ २९ गते पत्रकार सम्मेलन हुनेछ। साथै सोही दिन ‘कबड्डी ४’को प्रदर्शनी र त्यसपछि निर्माता, निर्देशक र दर्शकबिच अन्तर्क्रिया चलाइने भएको छ। फागुन १ गते सहभागीहरुले दुबईमा रहेका छायाङ्कन गन्तव्यहरुको अध्ययन अवलोकन भ्रमण गर्नेछन्। साथै सांस्कृतिक सांगीतिक प्रस्तुति दिने कार्यक्रम पनि तय गरिएको छ।

फागुन २ गते नेपाली चलचित्रको बजार विस्तार र अहिलेको वर्तमान अवस्थाको सन्दर्भमा अन्तर्क्रिया कार्यक्रम हुनेछ। सोही दिन फिल्म सिटी टूरसहित भेटघाट र छलफल कार्यक्रम पनि हुनेछ।

फागुन ३ मा दुबईस्थित स्वदेशी तथा विदेशी चलचित्रकर्मी, लगानीकर्ता, व्यवसायी, गैरआवासीय नेपाली, नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सम्बन्धी बृहत् अन्तर्क्रिया हुनेछ। सोही दिनमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिनेछ। श्रव्यदृश्य सहित अन्य प्रचार सामाग्री पनि वितरण हुनेछ। साथै अरबी भाषामा सबटाइटल गरिएको नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’को प्रदर्शनी र त्यसपछि फिल्ममाथि छलफल समेत हुनेछ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell