PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेसकै कारण लोसपा र एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन : उपेन्द्र यादव



राधेश्याम पटेल

कांग्रेसकै कारण लोसपा र एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन : उपेन्द्र यादव

वीरगंज : जनता समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो चुनावमा कांग्रेससँग तालमेल गर्दा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको दाबी गरेका छन्। बुधवार वीरगंजमा जसपा पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

रोयल पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यादवले नेता कार्यकर्ताहरुले पछिल्लो चुनावमा पार्टीले गरेको गठबन्धनले गर्दा जसपाको पनि कम सिट आएको टिप्पणीको भने खण्डन गरे। एमालेसँग गठबन्धन नगरको भए जसपाको हाल लोसपाकोजस्तै हुने उनको भनाई थियो।

चुनावी जोड घटाउको बेला तत्कालिन सत्ता गठबन्धनका दलहरुले जसपालाई कम सिटमा चुनाव लड्न सम्झौता गरिरहेको कारण आफुहरु अलग्एिर एमालेसँग गठबन्धन गरी चुनावमा गएको र आज राष्ट्रिय राजनीतिमा जसपाका अहम भूमिका रहेको पनि प्रस्टयाए। यादवले प्रतिनिधि सभामा १२ जना जसपाका सांसद रहेकोका कारण नेपाल सरकारको नेतृत्वमा जसपाका भूमिका महत्वपूर्ण रहेको र जसपा राष्ट्रिय पार्टी पनि बनेकोमा गौरबको विषय भएको तर्क गरे।

जसपा नेता एवं मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले संघीयता आएपछि जसपाको नेतृत्वमा गठित मधेश सरकारले धेरै उपलब्धि दिएको तर केही कमिकमजोरी कारण ती उपलब्धिलाई जसपाका नेताहरुले ग्रहण गर्न नसकेको र जनताको भावनाअनुसार काम गरी आफूलाई प्रमाणित गर्न नसकेको बताए। पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पर्सामा जसपाको संगठन कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै अगामी दिनमा जिल्ला तहले विचार गरी अघि बढ्नुपर्ने बताए। उनले यस्तै हाल रह्यो भने पार्टीको पर्सामा अझै साख गुम्ने बताए। वीरगंज महानगरका मेयर राजेशमान सिंहले वीरगंजलाई हेर्न लायकको शहर बनाउनुको साथै जसपा पर्साको पार्टी कार्यालय भवन पनि बनाएर देखाउने बताए। उनले जसपा पर्साको जिल्ला कमिटिले अन्य पार्टीबाट आएका नेताहरुलाई स्वभिमानपूर्वक समायोजन गरी हकअधिकार नदिएकोले त्यसतर्फ गम्भीर बन्न सुझाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell