PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसले नेतृत्व नपाउँदा प्रदेश १ को न्वारनै भएन : भुपेन्द्र राई



नेत्र तामाङ

कांग्रेसले नेतृत्व नपाउँदा प्रदेश १ को न्वारनै भएन : भुपेन्द्र राई

काठमाडौं : प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ। केन्द्रमा नेपाली कांग्रेसले एमालेले समर्थन गरेको सरकारलाई विश्वासको मत दिए पनि प्रदेश १ मा भने मत दिएन।

प्रदेशको दोस्रो ठुलो दल कांग्रेस अहिले प्रतिपक्षमा छ। ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाइसकेको अवस्थामा पनि प्रदेश १ को नामाकारण हुनसकेको छैन। हालसम्म ४ जना मुख्यमन्त्री पाएको यो प्रदेश नाम बिहीन छ।

यिनै विषयमा प्रदेश १ का कांग्रेस महामन्त्री एवं कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका भुपेन्द्र राईलाई सोध्यौं :

केन्द्र सरकारलाई कांग्रेसले विश्वासको मत दियो तर प्रदेश १ कांग्रेस भने प्रतिपक्षमै उभियो नि?

मुख्यमन्त्री नेकपा एमालेको भएकोले हो।

एमालेप्रति के को झोंक हो तपाईंहरुको?

माओवादीलाई हेर्ने दृष्टिकोण र एमालेलाई हेर्ने दृष्टिकोण हाम्रो चुनावअघिकै हो। नेकपा एमाले प्रतिगमनकारी शक्ति भनेर हामीले चित्रण गरेका हो नि। संसद विघटन गरेको, संविधानविरोधी काम गर्नुभयो नि केपी शर्मा ओलीले। त्यस्तो शक्तिलाई फेरि हामीले कसरी विश्वासको मत दिने?

तर त्यही दलको सहयोगमा बनेको प्रचण्ड सरकारलाई केन्द्रले विश्वासको मत दिइसक्यो?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त चुनावमा हामी सँगै लागेर मत दिएको शक्ति हो नि। त्यसैले विश्वास टुटिनसकेको अवस्था हो। एमालेले प्रतिगमनकारी काम गर्दा त्यो कित्तामा नउभिएर लोकतन्त्रको पक्षमा उभिएको शक्ति हो नेकपा माओवादी।

अब कांग्रेसको भूमिका के हुन्छ प्रदेश १ मा?

सरकारले ल्याउने राम्रो कामको हामी साथ दिन्छौ। नागरिकविरुद्ध दम्भ देखाउने खालको कार्यक्रम र बजेटमा हाम्रो समर्थन रहँदैन।

प्रदेश १ ले आफ्नो नाम कहिले पाउँछ?

सबै समुदायलाई समेट्ने गरि नाम आउनुपर्छ। त्यो कुरामा हामी सहभागी हुन्छौं। सरकार पक्षले टेबल गर्ने कुरा हो यो। कार्यव्यवस्था समिति पनि बनिसकेको छैन। अब विस्तारै अघि बढ्ला।

६ वटा प्रदेशले नाम पाइसक्यो, प्रदेश खारेजीको मुद्दा चर्को रुपमा उठ्दा पनि नाम नपाउनुको कारण के होला?

यो व्यवस्थामा प्रदेश खारेजीको कुनै सम्भावना छैन। खारेज गर्नुपर्छ भन्नेहरु नै सरकारमा छन्। अहिले त्यो आवाज विलय भइसक्यो। आवाज उठाउनै छाडिसक्नुभयो उहाँहरुले।

त्यसो भए के मा अड्कियो त नामाकरण?

सबैलाई थाहा भएकै कुरा हो। देशमा सम्पूर्ण परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ। देश संघीयतामा गएपछि थुप्रै प्रदेश सरकार बने। एमालेबाट तीन र एकीकृत समाजवादीबाट एक गरि चार मुख्यमन्त्री बनिसके। तर प्रदेश १ मा कांग्रेसले नेतृत्व नै गर्न पाएको छैन। त्यही भएर नाम नपाएको हो। हामी देशलाई निकास दिन चाहने पार्टी हो। बाधक बनेर बस्ने पार्टी होइन।

भनेपछि कांग्रेसले नेतृत्व पाएपछि सब ठीकठाक हुन्छ?

कांग्रेसले नेतृत्व नपाएकै कारण यो भइरहेको छ। कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनसाथ नामाकरण पहिलो प्राथमिकतामा राख्छ। प्रदेशको दिगो विकास, योजनाको बाँडफाँट सही रुपमा हुन्छ।

सम्भावना छ र नेतृत्व पाउने?

केन्द्रमा अदलबदल भए यहाँ पनि परिवर्तन हुने हो। कांग्रेस प्रदेश १ को दोस्रो ठुलो दल हो। दोस्रो दलले त्यो नेतृत्व पाउनुपर्छ। हामी त्यसमा लागि पर्छौं। समग्र प्रदेश १ को विकास, यस क्षेत्रको कृषि क्षेत्रमा सुधार र पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि हामीसँग भिजन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell