पेरिसमा सन् २०२४ मा हुने ओलम्पिक ४० वटा देशले बहिष्कार गर्न सक्ने पोल्यान्डका खेल एवम् पर्यटन मन्त्री कमिल बोर्टनिजुकले बताएका छन्।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सन् २०२४ मा हुने प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीहरुलाई प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको हो। तर, पोल्यान्ड, लिथुनिया, इस्टोनिया र लतभियाले संयुक्त रुपमा कमिटीको सो निर्णयको विरोध गरेको छ। यसै सन्दर्भामा पोल्यान्डका मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
रसियाले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन देशहरु रसियाको विरुद्धमा उभिएका छन्। बेलारुस भने रसियाको साथमा छ। केही पश्चिमा देशहरु रसियासँग अन्तर्राष्ट्रिय मञ्च साझा नगर्ने पक्षमा छन्। ओलम्पिकमा पनि यसको असर पर्न सक्छ।
रसियाका खेलाडी सहभागी भए युक्रेनले पेरिस ओलम्पिकमा सहभागी नहुने चेतावनी पहिलै दिइसकेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आइओसीका अध्यक्ष थोमस बच र फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनलाई रसियाका खेलाडीलाई ओलम्पिकमा सहभागी नगराउन भन्दै दबाब दिँदै आएका छन्। उनीहरुको सहभागीले 'आतंकवाद'लाई प्रोत्साहित गर्ने जेलेन्सीको तर्क छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने कुनै पनि प्रकारको बहिष्कारले 'खेलाडीमात्रै दण्डित' हुने प्रतिक्रिया दिएको छ।
पोल्यान्डका मन्त्री कमिले ओलम्पिक कमिटीलाई रोक्न ४० देशको गठबन्धन बन्न सक्ने बताएका छन्। ती देशमा अमेरिका, क्यानडा र बेलायतसम्म रहन सक्ने उनको दाबी छ।
गत साता ओलम्पिक कमिटीले रसिया र बेलारुसका खेलाडीलाई 'न्यूट्रल फ्ल्याग' (ती देशका खेलाडीले आफ्नो देशको झण्डा प्रयोग गर्न पाउने छैनन्) मा खेल्न दिने निर्णय गरेको थियो। कुनै पनि खेलाडीलाई उनीहरुको पासपोर्टको आधारमा खेल्न रोक्न नहुने कमिटीले जनाएको थियो। तर, धेरैले सो निर्णयको आलोचना गरेका थिए।
पोल्यान्ड, लिथुनिया, इस्टोनिया र लतभियाले संयुक्त रुपमा रसिया र बेलारुसका खेलाडीलाई 'तटस्थ झण्डा' लिएर खेल्न पनि दिन नहुने बताएका छन्। ओलम्पिक कमिटीले भने कुनै पनि प्रकारको बहिष्कार आइओटी चार्टरको विरुद्ध हुने बताएको छ। पहिला पनि केही प्रतियोगिताहरु बहिष्कार गरिएको तर त्यसले कुनै पनि राजनीतिक स्वार्थ पूरा नभएको आइओसीले प्रष्ट पारेको छ। त्यस्ता बहिष्कारले खेलाडीलाई मात्र दण्डित गर्ने आइओसीले बताइसकेको छ।
रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युद्ध सुरु भएको थियो। त्यसपछि ओलम्पिक कमिटीले रसियाका खेलाडीहरुमाथि प्रतिबन्ध लगाएको थियो। हाल भने आइओसीले उनीहरुलाई पेरिसमा तटस्थ खेलाडीका रुपमा खेलाउन बाटो खोलेको हो। उनीहरुले ओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउनु विभेद हुने आइओसीले बताएको छ। यद्यपि, रसिया र बेलारुसकै खेलाडीका रुपमा भने उनीहरुले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगित खेल्न पाउने छैनन्।
रसिया र युक्रेन ३४५ दिन देखि आमनेसामने छन्। दुवै देशका हजारौं मानिस मारिँदा पनि युद्ध रोकिने अवस्था छैन। र, युद्ध रोक्न कुनै पनि सार्थक पहल हुन सकेको छैन। यस्तो अवस्थामा ओलम्पिक खेल पनि प्रभावित हुन सक्ने देखिएको हो।