PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एप्पलको बिक्री ह्वात्तै घट्यो



पहिलोपोस्ट

एप्पलको बिक्री ह्वात्तै घट्यो
Photo : Apple

जीवनयापनको बढ्दो लागतले सन् २०२२ को अन्त्यमा एप्पलको बिक्री ह्वात्तै घटेको छ। महंगी चर्किदै गएपछि आम सर्वसाधारणले आधारभूत सेवा तथा वस्तुमा खर्च केन्द्रित गर्न थालेका हुन्।

सन् २०२२ को अन्तिम तीन महिनामा आइफोनको बिक्री ५ प्रतिशत घटेको हो। यो सन् २०१९ पछिको सबैभन्दा ठूलो गिरावट हो जसलाई कम्पनीले अपेक्षित भन्दा खराब बताएको छ।

विभिन्न पक्षले तीव्र आर्थिक मन्दीको बारेमा चेतावनी दिइरहेको बेला विशेष गरि प्रविधिको क्षेत्रमा गम्भीर असर परेको हो। यो असर महामारीको समययता व्यापक बढेको थियो। एप्पलका सिईओ टिम कुकका अनुसार फर्मले चुनौतीपूर्ण वातावरणको सामना गरिरहेको छ। कुकले आफ्नै वार्षिक तलब पनि ४० प्रतिशतले घट्ने देखेका छन्।

कुकले चीनमा कोभिड १९ का कारण 'सप्लाई चेन'मा अवरोध पुगेको बताए। चीन आइफोन उत्पादनको प्रमुख केन्द्र हो। आपूर्ति अभावका कारण बिक्रीमा उल्लेख्य गिरावट आएको कुकको विश्लेषण छ। अर्कोतिर महंगिएको डलरको सटही दर, बढ्दो महंगी, रसिया युक्रेन युद्ध र महामारीको लामो प्रभावबाट उत्पन्न भएको व्यापक आर्थिक कमजोरीले पनि आइफोनको व्यापारलाई प्रभाव पारेको हो।

‘विश्वले अभूतपूर्व परिस्थितिहरूको सामना गरिरहँदा एप्पलसँग मात्रै यसको प्रतिरक्षा गर्ने क्षमता छैन,’ कुकले लगानीकर्तासँगको सम्मेलनमा भनेका छन्। एप्पलले विश्वभर बिक्री घटेको र यसका धेरैजसो उत्पादनहरूलाई असर गरेको बताएको छ। एप्पलको लोकप्रिय आईफोनको बिक्री ८ प्रतिशतभन्दा बढी घट्यो र म्याक कम्प्युटरको बिक्री २९ प्रतिशत घटेको हो। यो गिरावटले एप्पलको नाफामा समेत असर गरेको छ। नाफा हाल १३ प्रतिशत घटेर ३० अर्ब डलरमा सिमित छ। बजार विश्लेषण फर्म क्यानालिसका अनुसार गत वर्ष विश्वव्यापी रूपमा स्मार्टफोनको आयात तथा निर्यात १२ प्रतिशतले घटेको हो।

एप्पलका अधिकारीहरूले कम्पनीले दिँदै आएको सेवातर्फको व्यवसायमा भने वृद्धि भएको छ। जसमा एप्पल पे र एप्पल न्युज समावेश छन्। उनीहरुका अनुसार विश्वभर अहिले दुई अर्बभन्दा बढी सक्रिय एप्पलका उपकरणहरू रहेको उल्लेख गर्‍यो।

यसैबिच अन्य ठूला प्राविधिक कम्पनीहरूले पनि दबाब महसुस गरिरहेको बताएका छन्। अमेजन स्वयमले आफ्नो ई-कमर्स व्यवसायलाई पुनरागनम गर्न संघर्ष गरिरहेको छ। अमेजनका अनुसार अनलाइन स्टोरहरूमा बिक्री २०२२ को अन्तिम त्रैमासमा अघिल्लो वर्षको तुलनामा दुई प्रतिशत घटेको बताएको छ।

सोही अवधिमा अमेजनको बिक्री ९ प्रतिशत बढेर १४९.२ अर्ब डलर पुगेको छ। यसको क्लाउड कम्प्युटिङ व्यवसायमा बलियो वृद्धिले बिक्री बढेको हो तथापि नाफामा तीव्र गिरावट छ। एक वर्ष अघि उसको १४.३ अर्ब डलरको नाफा लगभग शून्यमा झरेको हो।

गुगल र युट्युबको माउ कम्पनी अल्फाबेटको बिक्री पनि मात्र एक प्रतिशत बढेको छ। आर्थिक अनिश्चितताका कारण कम्पनीहरूले विज्ञापनमा कटौती गरेपछि आम्दानीमा उल्लेख्य गिरावट आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell