चितवन : दुर्लभ एकसिँगे गैँडा संरक्षणसम्बन्धी छलफल शुक्रवारदेखि चितवन सुरु हुँदैछ। एसियाका पाँच देशका उच्च अधिकारीहरू छलफलमा सहभागी हुनेछन्। ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन्। नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने उनले जानकारी दिए।
यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने उनले जानकारी दिए। फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन्। उनका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान-प्रदान गर्नेछन्।
विश्वमै सबैभन्दा बढी एकसिँगे गैँडा क्रमशः भारत र नेपालमा पाइन्छ। यसको संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताइएको छ। यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्रो बैठक भारतको दिल्लीमा भएको थियो।