PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

काठमाडौंमा बन्धक बनाएर दिल्लीमा बलि दिन पुर्‍याइयो, १६ वर्षीया किशोरीलाई प्रहरीले गर्‍यो उद्धार



पहिलोपोस्ट

काठमाडौंमा बन्धक बनाएर दिल्लीमा बलि दिन पुर्‍याइयो, १६ वर्षीया किशोरीलाई प्रहरीले गर्‍यो उद्धार
फोटो : रासस।

काठमाडौं : बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारत पुर्‍याइएकी किशोरीलाई उद्धार गरिएको हो।

किशोरी गत मंसिर १७ गते मामाघरबाट सम्पर्कविहीन भएकी थिइन्। उनी सम्पर्कविहीन भएपछि उनका आफन्तले पुस ६ गते प्रहरीमा सूचना दिएका थिए।

किशोरीको खोजी गर्दै जाने क्रममा उनी भारतमा भएको खुलेको थियो। ब्युरोले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था केआईएन इन्डियाको समन्वयमा किशोरीलाई फेला पारेको हो।

माघ १७ गते राति ९:४८ बजे भारतको आउटर डिस्ट्रिक्ट रन्होला थानाको वडा एरिया अन्तर्गत मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरको पहिलो तल्लामा किशोरी फेला परेकी थिइन्। उनलाई त्यहाँ बन्दक बनाएर राखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पीडित किशोरीलाई मंसिर १७ गते मामाघरबाट काठमाडौं ल्याई पुस १७ गतेसम्म बन्धक बनाइ राखेको प्रहरीले पत्ता लगाएको छ। उनलाई पुस २० गते बन्धक बनाई राखिएको स्थानबाट गाडीमा राखेर सुनौली हुँदै पुस २२ गते भारतको नयाँ दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

कम्तीमा ५ फिट ४ इन्चमाथि उचाइ भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु र कुनै अंगमा चोट नभएको, रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त किशोरीलाई भेट्टाएर प्रलोभनमा पारी भारत पुर्‍याइएको ब्युरोले जनाएको छ। किशोरीलाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुशी भएमा अथाहा पैसा पाउने भनी प्रलोभनमा पारिएको पनि खुलेको छ।

भारतमा पुर्‍याइएपछि किशोरीलाई विभिन्न स्थानमा रहेका ३ फरक तान्त्रिक बाबासँग भेटाइएको पनि अनुसन्धानमा खुल्न आएको छ। उद्धार गरिएकी बालिकाको हाल सामाजिक संस्थाको जिम्मा लगाइएको छ।

किशोरीलाई बलि दिन भारत पुर्‍याइएको प्रहरीको ठम्याइ छ। उक्त घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको ब्युरोले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell