गौर : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ बाट दुई दिनसम्म चल्ने भएको छ। मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञ उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
आयोजक मौलापुर नगरपालिकाले शनिवार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन आयोजना गरी महायज्ञबारे जानकारी गराएको हो। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञ फागुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने छ।
फागुन ५ गते उपराष्ट्रपति पुनले महायज्ञको उद्घाटन गर्नुका साथै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन्। त्यस्तै, फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ। फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ। यसका साथै फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन समेत गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन्। उनले पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको बताइन्।
सरकारले देशमा थप नयाँ सय पर्यटकीय गन्तव्यमा उक्त मन्दिर छनोट गरेको छ। २०७६ सालदेखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ। २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७७ सालमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल, २०७८ सालमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा मधानी महायज्ञ आयोजना गरिएको थियो।