- सुभाषचन्द्र देवकोटा -
देशले हरेक वर्ष झै शहीद दिवस मनायो। एक दर्जन नेताहरु शहीदहरुको सालिकमा माल्यार्पण गरेर वर्षको एक पटक नै भए पनि औपचारिकता निभाउन दौडधुप गरिरहे। लोकलाज त बचाए तर विचार र आदर्शको पथबाट भड्किएका र सत्ताको प्यास मेटाउन शहीदका सपना नै बन्दगी राख्न समेत नहिच्किचाउने नेताहरुबाट शहीदको सपना कसरी पूरा होला? जनताले विश्वास गर्ने आधार देखिँदैन।
सुखी र समृद्ध नेपाल निर्माण शहीदहरुको पवित्र सपना थियो। विडम्बना! राजनीतिक दलको अकर्मण्यताले शहीदको सपना बेवारिसे बन्न पुगेको छ। देशको राजनीति, सामाजिक तथा आर्थिक अवस्था दिन प्रतिदिन दयनीय बन्दै गर्दा देशमा गरिखाने वर्गको जीवन झन् झन् कष्टकर बनेको छ। परिणामतः देश भित्र नै उद्यम तथा व्यावसाय गरेर आर्थिक उन्नयनको बाटो रोजेका युवा राज्यसित आर्थिक अराजकताको सिकार भएर आत्माहत्या, आत्मदाह गर्न बाध्य बनेका छन्। इलामका युवा उद्यममी प्रेम प्रसाद आचार्य यसको बलियो उदाहरण हुन्। उनले दिनदहाडै संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाए। मृत्यु रोजे।
यो लेख सरकारी अकर्मण्यता र राज्यव्यस्थाबाट सृजित आर्थिक अराजकताको विरुद्ध आफ्नै शरीरमा आगो लगाएर विद्रोहको आवाज उठाउने उनै प्रेम प्रसाद अचार्यप्रति समर्पित छ।
करिब सय वर्ष पहिले अर्थात् १९९८ सालमा तात्कालीन सरकारले गरेको अत्याचार र शासकको भ्रष्ट व्यवहारबाट दिक्क भएर योगमाया र उनका समर्थकहरुले अरुण नदीमा हामफालेर जलसमाधि लिएका थिए। समय सन्दर्भ फरक भए पनि वर्तमान राजनीति अव्यवस्था, नवउदारवादको आर्थिक दुःश्चक्रबाट आजित भएर प्रेम प्रसाद अचार्यले आफ्नै शरीरमा आगो लगाए। यसले तात्कालीन समयमा योगमायाले गरेको विद्रोहकै झलक दिएको छ। आचार्यले आफूले आत्मदाह गर्नु परेका धेरै कारणहरु भएको उल्लेख गरेका छन्। तर ती सबै कारणहरुको मूल जरो भनेको वर्तमान राज्य व्यवस्थाको चरम मनोमानी र राजनीतिमा देखिएको आर्थिक भ्रष्टिकरण र यसबाट श्रृजित अराजकता नै हो।
आचार्य त नेपाली युवा व्यावसायी तथा उद्यमीका प्रतिनिधिपात्र मात्र हुन्। उनले पाएका हण्डर र भोगेका भोगाइ उनी जस्तै स्वदेशमै व्यावसाय तथा उद्यम संचालन गर्दै आएका हजारौ अन्य युवाहरुका साझा सवाल हुन्। राज्यका निकाय र ठूला नाफाखोर व्यापारीहरुबाट पटकपटक पाएको धोका र जालसाजीका यथार्थ कथाहरु हुन्। दलाल पूँजीवाद र कथित नवउदारवादले देशलाई कसरी चंगुलमा परेको छ र नेपाली अर्थतन्त्रलाई कुन हदसम्म तहसनहस पारेको छ भन्ने कुरा आचार्यको मृत्यु प्रकरणले सबैको अगाडि स्पष्ट पारिदिएको छ। साथै, यस मृत्यु प्रकरणले बैंक तथा वित्तीय संस्थाहरु, सरकारी अनुदान तथा सहयोगहरुमा कब्जा जमाएर बसेका कथित नाफाखोर ठूला व्यपारी र तिनलाई संरक्षण दिने राज्य संरचना र निकायको नियत छताछुल्ल हुन पुगेको छ।
तसर्थ, आचार्यको आत्मदाहले नेपालको वर्तमान राज्यव्यवस्था र यसको संचालन विधिमाथि नै एकैचोटि थुप्रै प्रश्नहरु उब्जाएको छ। हाम्रो राज्यव्यवस्था र यसका आर्थिक नीति व्यवस्थापनले ठूला र नाफाखोरहरुको लागि लुटको साम्राज्य खडा गरी दिए पनि गरिखाने वर्गलाई भने बल्छीमा पारेर अन्त्यमा असामयिक मृत्यु ग्रहण गर्न बाध्य तुल्याएको छ भन्ने जगजाहेर भएको छ।
संविधानले वर्तमान राज्यव्यवस्थालाई समाजवाद उन्मुख भनेर व्याख्या गरेको छ। तर पनि राज्य संचालनका हर्ताकर्ताको मनोविज्ञान र प्रवृत्ति भने सामन्तवादीबाट अलिकति पनि सुधारवादी बनेको छैन। अर्थ नीति, औद्योगिक तथा व्यवसायिक नीति, नियमहरु तिनै सामन्तवादको प्रतिछाँया जस्तामात्र छन्। नेपालको राज्यसंयन्त्र र यसका प्रणाली जनहित अनुकूल पटक्कै छैनन्। यसरी केही घरानीया महाजनको प्रभाव र स्वार्थमा तयार गरिने नीतिले किसान, साना उद्यमि तथा व्यावसायी भने सीमान्तकृत बन्न पुगेका छन्। सधैं संकटमा पर्दै आएका छन्।
यथार्थमा, आचार्यहरुको समस्याको सुनुवाई तथा समाधान गर्ने दायित्व राज्यको हो। राज्य आचार्यहरुको दुःखमोचनको सारथी बन्नुपर्ने थियो। विडम्बना, सरकारको नै गैह्रजिम्मेवार व्यवहार, प्रवृति र असहिष्णुताले गर्दा अन्ततः आचार्यले अकाल मै मर्नुपर्यो।
आचार्यले आत्मदाह गर्नका लागि शरीरमा आगो लगाउनुपूर्व सामाजिक संजालमा राखेका विषयबस्तु र उनले भोगेका जीवनको वास्तविकताले सबैको मन कटक्क खाएको छ। अर्थिक संकटग्रस्त अवस्थाप्रति उनको समाज, परिवार, नातागोता आफन्तजन लगायत सरकारी निकायको असहिष्णु र उपेक्षित व्यवहार कम पीडादायी छैनन्। बलेकै आगो ताप्ने दुनियाँमा आचार्यले कसैको पनि सहारा पाएनन्। हामी बाँचेको समाज, हाम्रा आफ्नै परिवारसमेत कतिसम्म असहयोगी हुनसक्दा रहेछन् भन्ने अचार्य स्वयंले आफ्नो अनुभवमा उल्लेख गरेका छन्।
आत्महत्या मात्रै गर्नुथियो भने त आचार्यले जहाँ बसेर पनि गर्न सक्थे। तर उनी वर्तमान राज्य व्यवस्थाका ठेकेदारहरु समक्ष बिद्रोहको सन्देश दिन चाहन्थे। तसर्थ, उनले आत्मदाहका लागि राज्यसत्ताको शक्ति केन्द्र मानिने वानेश्वरमा रहेको सांसद भवनको ढोका रोजेका थिए। निःशन्देह, आचार्यको मृत्युको जिम्मेवर वर्तमान राज्यसत्ता र सत्ता संचालनको लुछाचुडीमा व्यस्त अराजनीतिक राजनीति दलहरु नै हुन्। तसर्थ, आचार्यको मृत्युका लागि जिम्मेवार ठानिएका सबै पक्ष लगायत आर्थिक तथा सामाजिक नीतिहरुको गम्भीरताका साथ खोजविन र समीक्षा गरिनु पर्दछ।
जसरी हुन्छ सत्तामा पुग्ने होडबाजीले मूल्य, मान्यताको राजनीतिमा ह्रास आएको छ। आर्थिक अराजकता र मनोमानीले राज्यका सार्वभौम प्रणालीहरु छिन्नभिन्न भएका छन्। परिणमतः राजनीति नेतृत्वलाई विचार र आदर्शभन्दा सत्तामा पुर्याउन सक्ने विचौलिया र दलालको काँध प्रिय बनेका छन्।
नवउदारवादको चस्मा लगाएर अन्धो बनेका शासकका लागि आचार्यको मृत्युको घटना सामान्य लाग्नसक्छ। तर, यथार्थमा आचार्यको मृत्युले नयाँ विद्रोहको संकेत गरेको छ। यस घटनाको सामान्यीकरण वर्तमान राज्य व्यवस्थाका लागि नै घातक हुनसक्छ।
देशमा पालैपालो आफूलाई समाजवादी विचारधाराको अनुयायी भन्ने कांग्रेस र कम्युनिष्टहरुले शासनसत्ता चलाइआएका छन्। तर, उनीहरुकै समाजवाद उन्मुख व्यवस्थामा नै किन प्रेम प्रसाद आचार्यहरुलार्इ अकाल मृत्यु रोज्न बाध्य पारिन्छ? यसको जिम्मेवारी सत्ता संचालन गर्दै आएका कांग्रेस र कम्युनिष्टहरुले लिनु पर्दैन? लोकतन्त्रमा सरकार र राजनीतिक दलहरु यसरी गैह्र जिम्वेवार हुन छुट छ? यसबारे अब जनताले प्रश्न उठाउनै पर्दछ।
सिंहदरवारदेखि स्थानीय तहसम्मका सरकारी निकाय र राजनीतिक दलहरु कसरी आर्थिक विचौलियाको चंगुलमा परेका छन् भन्ने कुराको सटिक चित्रण आचार्यले उदांगो पारिदिएका छन्। सरकारी अनुदान कसरी बाँडफाँड गरिन्छ, सहकारी तथा वित्तीय संस्थाले सर्वसाधारण जनताहरुको आर्थिक शोषण कसरी गर्छन्, शहरीया ठूला भनिने व्यापारीले साना किसान र उद्यमीलाई कसरी लुट्दै आएका छन् भन्ने आचार्यले सप्रमाण ऐनाले जस्तै छर्लंग पारिदिएका छन्।
उनको मृत्यु प्रकरणले मतिभ्रष्ट, पथभ्रष्ट बन्दै गएको हाम्रो राजनीति र समाजको यथार्थ चित्रण बाहिर ल्याइदिएको छ। कुशासनले जर्जर बनेको मौजुदा राज्य संयन्त्र, आर्थिक तथा वित्तीय व्यवस्थापनको अराजकता अब नेपाली जनताले थेग्न नसक्ने अवस्था पुगेको छ। यसबारे राज्य संचालनका ठेकेदारले बेलैमा सोच्नु जरुरी छ। अन्यथा, राज्यको विचौलिया र जनतामारा प्रवृत्तिविरुद्ध आम जनताको विद्रोहलाई कसैले रोक्न सक्ने छैन। अस्तु।