PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जरायो प्रकरणमा दुई प्रदेश सांसदसहित ४९ जनामाथि मुद्दा, के हुन्छ सजाय?



राधेश्याम पटेल

जरायो प्रकरणमा दुई प्रदेश सांसदसहित ४९ जनामाथि मुद्दा, के हुन्छ सजाय?

वीरगंज : जरायो प्रकरणमा पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयले पर्सा र वाग्मतीका दुई जना प्रदेशसभा सदस्य, गाउँपालिकाका पूर्व अध्यक्षसहित ४९ जनालाई कसूरवार ठहर गर्दै सजाय तोकेको छ। गत पुस ४ गतेका दिन पर्सा राष्ट्रिय निकुञ्जको जमुनिया खोला क्षेत्रको निकुञ्ज क्षेत्रमा प्रवेश गरी वन्यजन्तु शिकार गरेको र उक्त कसूरमा अनुसन्धानपछि दुईजना प्रदेशसभा सदस्य र पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर गर्दै सजाय गर्ने निर्णय भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताएका छन्।

उनले जरायो प्रकरणमा मधेस प्रदेशसभा सदस्य प्रमोदकुमार जयसवाल, वाग्मती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का, सखुवापर्सौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल र सञ्जीव शाहीलाई वनजन्यु चोरी सिकारी घटनामा मतियार रहेको ठहर गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजायको निर्णय भएको उनले बताए। 

यसैघटनामा पक्राउ परेका झापसदास थारू, नवराज बस्नेत, दामोदर अधिकारी, विशाल (लक्ष्मण) सहनी, म्लाङदोङ तामाङ र यसै घटनामा अनुसन्धानपछि पक्राउ परेका सुलन मियाँ अन्सारी, भोलाबहादुर पुन मगरसमेतलाई  वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (३) बमोजिम कसूरदार ठहर गरेको छ। फरार प्रतिवादीहरू कुमार लामा, विकास सहनी र उपेन्द्र यादवको हकमा पनि यही दफा अन्तर्गत कसूरदार ठहर गरिएको र पक्राउ परेको खण्डमा सोही बमोजिम सजायको निर्णय गरेको सूचना अधिकारी खड्काले बताए।

यो घटनामा बरामद दसी, निजहरूको बयान, घटना विवरण, कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त अनुसन्धान प्रतिवेदन, विधिविज्ञान प्रयोगशाला खुमलटार ललितपुरबाट प्राप्त पतिवेदन तथा जिल्ला सहकारी वकिल कार्यालय वीरगंजबाट ४९ जना व्यक्तिहरूलाई प्रतिवादी कायम गरिएको माघ १७ गते निजहरूविरूद्ध निकुञ्जको कार्यालयमा मुद्दा दायर भएको थियो।

दायर मुद्दामा पक्राउ परेका प्रतिवादी आठ जनालाई सजाय गरिएको उनले बताए। यसै घटनामा तारेखमा राखेर अनुसन्धान गरिएका प्रदेशसभा सदस्य जयसवाल, खड्का, पूर्वगाविस अध्यक्ष जयसवाल, प्रकाश केसी, सञ्जीव शाहीलाई पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय तोकिएको छ।

यो घटनामा निकुञ्जले ३४ जना फरार रहेको र उनीहरूको हकमा पहिचान खुली पक्राउ परेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम सजाय हुने प्रमुख संरक्षण अधिकृत रामले बताए। घटनास्थलबाट बरामद भएका सवारी, छ थान मोबाइल, दुई लाख ९६ हजार ६ सय ३० नेपाली र एक हजार दुई सय भारीयत मुद्रा, बन्दुकलगायत अन्य बन्दोबस्तीका सामग्रीहरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत गर्ने निर्णय भएको उनले बताए।

काठमाडौं ५(२) बाट निर्वाचित अर्थात बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्काको हकमा भने आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको र उक्त हतियारबाट वन्यजन्तु सिकार गरेको देखिएकाले खड्कालाई हातहतियार खरखजाना ऐन, २०२९ बमोजिम थप कारबाईका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको जनाइएको छ।

यो घटनाका प्रतिवादीहरूले स्वदेश र विदेशको विभिन्न स्थानमा समूह बनाई आधुनिक हतियार समेतको प्रयोग गरी संरक्षित वन्यजन्तुको समेत सिकार गरी तिनका आखेटोपारहरू अन्तर्राष्ट्रिय रूपमा ओसारपसार गर्ने गरेको प्रमाणको आधारमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र संगठित अपराध निवारण ऐन, २०७० बमोजिम थप अनुसन्धान गर्ने निर्णय भएको बताइएको छ।

यसै घटनाका प्रतिवादीमध्ये केहीको अस्वाभाविक रूपमा वित्तीय कारोबार भएको खुलेको र उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धान हुनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत लेखी पठाइएको उनले बताए।

गत पुस ४ गते बेलुकी निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र सिकारी टोलीबीच अकुवनियास्थित जंगलमा भिडन्त भएको थियो। सेनाले सिकारीको गाडीको चक्कामा गोली हानेर पाँचजनालाई तत्काल पक्राउ गरेको थियो। सो घटनामा केही व्यक्ति भागेका थिए। भोलिपल्ट बिहान सेना र निकुञ्जको टोलीले प्रदेशसभा सदस्य प्रमोद जयसवालको फार्महाउसमा छापा मारेर सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो। जयसवाल पर्सा ३(१) बाट स्वतन्त्र रुपमा चुनाव जितेर हाल जसपामा प्रवेश गरेका प्रदश सांसद हुन्। सेना र निकुञ्जले पाँच जना व्यक्ति, दुर्ईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउको, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो। सो शिकारमा जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नंको गाडी प्रयोग भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell