PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

स्वदेश फर्किइन् परराष्ट्रमन्त्री पौड्याल : सार्कलाई चलायमान बनाउनेबारे श्रीलंकामा छलफल



पहिलोपोस्ट

स्वदेश फर्किइन् परराष्ट्रमन्त्री पौड्याल : सार्कलाई चलायमान बनाउनेबारे श्रीलंकामा छलफल

काठमाडौं : परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरि आज स्वदेश फर्किएकी छिन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएका उनले विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन्।

स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणका क्रममा श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय 'साइड लाइन' भेटवार्ता भएको जानकारी दिइन्।

उनले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। भेटमा दुई देशबिचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी गराउँदै उनले भनिन्, 'हामीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबिच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गर्‍यो।'

यस्तै, पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। उनले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा श्रीलंकाका विदेशमन्त्रीसँगै कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश र माल्दिभ्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्। सबै भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबिच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताइन्।

'सार्कका विभिन्न संयन्त्र छन्, हाल राज्य-सरकार प्रमुखको तहमा नबसी अन्य तलका संयन्त्रबाट सार्कलाई पुनः चलायमान गर्दै लैजाने कि भन्नेलगायत विभिन्न विकल्पका बारेमा सकारात्मक छलफल भएको छ। यद्यपि, यसमा अझै गृहकार्य गर्न बाँकी छ,' पौड्यालले भनिन्, 'सार्कका गतिविधिलाई प्रभावकारी र पुनः चलायमान बनाउन हाल सार्क मुलुकका विदेश सचिवहरुको अनलाईन बैठक बस्ने भन्ने विषयमासमेत छलफल भएको छ।'

श्रीलंकाले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो।

श्रीलंकाले जलवायु परिवर्तनसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै मन्त्री पौड्यालले नेपालले पनि त्यसमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइन्। उनले दक्षिण एसियाली मुलुकहरु जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्न सबैसँग कुरा गरेको बताइन्।

यसैगरि, बंगलादेशसँग ऊर्जा व्यापार बारेमा कुरा भएको, माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्सको ठूलो माग रहेको अवस्थामा सम्झौता गरेर प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको मन्त्री पौड्यालले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell