काठमाडौं : आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराए। उनले सरकारले किसानको पीडा नसुनेको बताए। सांसद वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि कृषसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताए। उनले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताए।
यस्तै, सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराएकी थिइन्। कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन पनि ध्यानाकर्षण गराइन्। उनले सिमानामा हुने हिंसा र अनियमतिता रोक्न ध्यानाकर्षण गराएकी हुन्।
सांसद तेजुलाल चौधरीले थारु आन्दोलन र थारु समुदायको भावनामाथि दमन गर्न काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद दामोदर पौडेलेले फेवा तालको सिमाङ्कनको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र रुटको इजातजप्रति ध्यानाकर्षणसमेत गराएका थिए। मिर्गौला बिरामीका लागि डाइलासिस सेवा प्रभावकारी बनाउन पोखरामा डाइलासिस सेवा केन्द्र निर्माण गर्नुपर्नेमा पनि उनको जोड थियो।
यस्तै, सांसद दीपक खड्का सङ्खुवासभा जिल्लामा हुने विद्युत् उत्पादनको करिब सात लाखको शेयर सस्तो ब्याजदरमा स्थानीयलाई उपलब्ध गराउन ध्यानाकर्षण गराएका थिए। सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई तीव्र गति दिनुपर्ने बताइन्। सांसद दुर्गा राईले भने भोजपुर जिल्लाको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताएकी थिइन। उनले जथाभावी सुरुङ खन्दा बस्ती नै जोखिममा परेको बताएकी थिइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले नेपालगंजबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए। सांसद नारायणी शर्माले दाङ जिल्लाको सडक निर्माण अस्तव्यस्त हुँदा एक सय नौ जनाको मृत्युको भएको बताउँदै सडक निर्माण गर्न ध्यानाकर्षण गराएकी थिइन्।
यस्तै, सांसद पुष्पबहादुर शाहले अछाम जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउने र घरबारविहीनलाई तत्काल राहत र व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए। उनले यस क्षेत्रका बासिन्दाका लागि तत्काल ठोस नीति लिएर स्थानीयको उद्धार गर्नुपर्नेप्रति ध्यानाकर्षण गराएका थिए।
सांसद प्रकाश ज्वालाले सल्यान, दाङ र रुकुम जिल्लाको राप्ती लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्न ध्यानाकर्षण गराए भने सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण गर्न बनेको विधेयकलाई तत्काल संशोधन पेस गर्न ध्यानाकर्षण गराएका थिए।
सांसद प्रभुहजरा दुसाधले भौतिक निर्माणका लागि स्थानीयलाई जग्गा मुआब्जा उपलब्ध गराउनुपर्ने बताउँदा सांसद बद्रीप्रसाद पाण्डेले पूर्वाधार निर्माण तीव्रता दिनुपर्ने बताएका थिए।
आजको बैठकमा सांसद प्रेमबहादुर महर्जनले ललितपुर जिल्लाका विभिन्न सडक चक्रपथको स्तरोन्नति र करिडोर खोल्न ध्यानाकर्षण गराएका थिए। सांसद बलराम अधिकारीले सिचाँइ र मलको अभावप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। उनले भारतको खुला सिमानाबाट भित्रिने छाडा चौपायाले दुर्घटना बढाएको भन्दै सिमाना व्यवस्थापनमा ध्यानाकर्षण पनि गराएका थिए।
नेपाली कांग्रेसका सांसद दीलप्रसाद बडूले नेपाल-भारत र चीनको दार्चुला सडक आयोजना अपेक्षितरुपमा अघि नबढेको बताएका थिए। उनले एक महिनायता रोकिएको उक्त सडक निर्माण चार वर्षमा सम्पन्न गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए।