काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा नेपाली कांग्रेसको व्यवहार बुझिनसक्नुको भएको बताएका छन्। प्रतिनिधि सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली अहिले कांग्रेस पानी बिनाको माछाजस्तै भएकोसमेत बताए।
'कांग्रेसको व्यवहार बुझिनसक्नुको छ। सत्तामा नहुँदा कांग्रेस पानी बाहिरको माछाजस्तै भएको छ,' ओलीले भने, 'हामी बृहत्तर हितमा काम गर्छौं। धमिलो पानीमा माछा पार्नेहरुको हितमा छैन यो।'
चुनावमा धाँधली गर्नेदेखि जनतालाई झुक्याउने पार्टी कांग्रेस भएको दाबी गर्दै ओलीले लोकतान्त्रिक पार्टी भनेर आफूलाई चिनाउन कांग्रेसलाई नैतिकताले नदिने तर्क गरे।
'कतिपय साथीको दाबी छ फलानो पार्टी भनेको लोकतन्त्र हो। कांग्रेस भनेकै लोकतन्त्र। लोकतन्त्रको पर्याय नै कांग्रेस रे,' उनले भने, 'विदेश पठाइदिउँला भनेर झुक्याएर चुनाव जितेर लोकतन्त्र। नैतिक र इमान बिनाको कामलाई हामी आत्मसाथ गर्न सक्दैनौ।'
कांग्रेस राष्ट्रपति र प्रधानमन्त्रीमा कसैलाई नपत्याएर अहिले प्रतिपक्षमा बस्न पुगेको उल्लेख गर्दै राष्ट्रपतिको निर्वाचन खिचोला गर्ने कांग्रेसको उद्देश्य पुष्टि भइसकेको बताए।
'प्रधानमन्त्री र राष्ट्रपतिमा आफूबाहेक कसैलाई नपत्याएर प्रतिपक्षमा बस्न पुगेको कांग्रेसले हठात् विश्वासको मत दियो। त्यतिबेला मैले भनेको थिए ढोक्सा थापेको भए गल्ती हो,' ओलीले भने, 'राष्ट्रपतिको निर्चानमा खिचोला गर्ने दुरासाय देखिन्छ यो। प्रचण्डजीलाई हामीले सडकमा पुर्याएका थियौ। प्रधानमन्त्री बनाएर प्रधानमन्त्रीको पिँजडामा हाल्दिने? अभिभाराको भारी नै बोकाएको हो। प्रधानमन्त्रीको जिम्मेवारी फुक्काफाल हुँदैन।'
ओलीले बुढा बाघ र महिलाले लगाएको सुनको बालाको कथा झिक्दै कोही पनि सुनको बाला लिन नजानेसमेत दाबी गरे।
'एउटा बुढा बाघले महिलालाई झम्टेछ। खाइसकेपछि महिलाको बाला बाँकी बसेछ। गुफाबाट बाघले बाला लिइदेउ न भनेछ। बाला लिन जाँदा अर्कोलाई पनि झ्याप्प पार्छ,' ओलीले भने, 'बाला, साथीहरु बाला देखाइरहनुभएको छ। यस्ता खेलहरु खेलिनु बञ्छानीय हुँदै होइन। ट्राइ योर बेस्ट। सरकारमा रहेका दलहरु आफ्नो बारेमा देशको बारेमा बुझेका छैन। सुनको बाला टिप्न जानेवाला कोही छैन। निषेधको राजनीति उत्तानो परिसक्यो।'