PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

कतारमा 'च्याम्पियन' बन्दै गर्दा विश्राम लिने संकेत गरेका मेस्सी के २०२६ को विश्वकप पनि खेल्ने सोचमा छन्?



पहिलोपोस्ट

कतारमा 'च्याम्पियन' बन्दै गर्दा विश्राम लिने संकेत गरेका मेस्सी के २०२६ को विश्वकप पनि खेल्ने सोचमा छन्?
Photo: Vincent Carchietta-USA TODAY Sports

कतार विश्वकप चलिरहँदा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले भनेका थिए : यो मेरा लागि अन्तिम विश्वकप हुनेछ। तर, अर्जेन्टिनले विश्वकप जितेयता मेस्सीले आगामी विश्वकप अर्थात २०२६ मा हुने विश्वकप खेल्ने सम्भावना खुला रहेको सन्देश दिएका छन्।

'उमेरका कारण पनि सन् २०२६ को विश्वकप खेल्न कठिन हुनेछ,' मेस्सीले पत्रिका डिआरिओ ओलेसँग भनेका छन्, 'मलाई फुटबल खेल्न मन पर्छ र जब म राम्रो 'सेप'मा छु म यसबाट आनन्द लिँदै यसलाई निरन्तरता दिनेछु। अर्को विश्वकप आउन लामो समय लाग्छ। यसबिचमा मेरो करियर कस्तो हुनेछ भन्नेमा भर पर्छ।'

अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनल स्कालोनीले अर्को विश्वकप पनि 'सुपरस्टार' मेस्सीलाई टोलीमा देख्न चाहने बताएका छन्।

'मलाई लाग्छ मेस्सीले अर्को विश्वकप पनि खेल्न सक्नेछन्,' प्रशिक्षक स्कालोनीले स्पेनिस रेडियो काल्भिया एफएमसँग भने, 'यो मेस्सीले के चाहन्छन् र समयसँगै के हुन्छ भन्ने जस्ता कुराहरुमा धेरै निर्भर हुनेछ। सम्भावनाका ढोकाहरू सधैं खुला रहनेछन्। उनी मैदानमा खुसी हुन्छन्, र हाम्रो लागि यो राम्रो हुनेछ।'

कतार विश्वकपमा सात गोल गरेसँगै मेस्सीले विश्वकपमा १३ गोल पूरा गरेका छन्। विश्वकपको सर्वाधिक गोलकर्ता बन्न उनी जर्मनीका मेरिस्लाभ क्लोजभन्दा ३ गोलले पछाडि छन्। आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरुपमा आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell