PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आफै प्रधानमन्त्री भए झैं ओली खनिए कांग्रेसमाथि : फेरि सरकारमा आउन बल गरिरहेको छ, अलि समय त हेर्नु-सिक्नु नि



पहिलोपोस्ट

आफै प्रधानमन्त्री भए झैं ओली खनिए कांग्रेसमाथि : फेरि सरकारमा आउन बल गरिरहेको छ, अलि समय त हेर्नु-सिक्नु नि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवारको प्रतिनिधि सभामा कांग्रेसमाथि खनिएका छन्। आफ्नो प्रधानमन्त्रीकालमा भएको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष ‌ओलीले ती कामहरु कांग्रेसले अलपत्र पारेको आरोप लगाए।

'कोभिडको बेला परीक्षणको सुविधा शुरु गर्‍यौं। पहिलोचोटि हङकङबाट ल्याएको हामीले। दक्षिण एसियामा दोस्रो देश हुन सफल भयौ कोभिड खोप लगाउने, ' ओलीले भने, 'प्रधानमन्त्री रोजगार अन्तर्गत देशमै रोजगार स्थापना हुँदै थियो। नेपाली कांग्रेसको नेतृत्वको सरकारमा के के भयो? उपलब्धि केही भेटिएन तथ्याङ्क नभएर हो कि अभिलेख नराखेको हो कि काम नभएको हो?'

केही काम गर्न नसकेको कांग्रेस अहिले फेरि सरकारमा आउन बल गरिरहेको उल्लेख गर्दै ओलीले केही समय पनि सत्ताबाहिर कांग्रेस बस्न नसकेको बताए। 'बरु हामीले शुरु भएको काम अलपत्र पारिएको भेटियो। योजनाहरु खारेज गरिएको पाइयो। राष्ट्र आधुनिक पारेको योजनाको क्षतिपूर्ति कसले व्यहोर्ने?' ओलीले भने, 'फेरि पनि कांग्रेस सरकारमा आउन बल गरिरहेको छ। अलिकति समय त हेर्नु, सिक्नु नि। कुराको जवाफले के गर्ने, काम बर्बाद भइसक्यो।'

कांग्रेसले जनताको कर खाएर पनि जनतालाई हिसाब नबुझाएको बताए। 'आम जनतालाई हामीले हिसाब बुझाउनुपर्दैन? हामी १० वर्षभित्रमा यो देशलाई विकसित बनाउँछौ,' ओलीले भने।

कांग्रेस नेतृत्वको सरकारले बिगारेको परराष्ट्र नीति यो सरकारले सुधार्ने वचनसमेत ओलीले दिए। ओलीले सबै क्षेत्रबाट सरकारलाई सहयोग हुने आशासमेत व्यक्त गरे। त्यसैगरी ओलीले कक्षा १ देखि कक्षा १२ सम्मका पाठ्यक्रम, किसानलाई रासयनिक मल उपयुक्त समयमा पाउने गरी व्यवस्था गर्नेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell