PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

मण्डला थिएटरमा भूपी शेरचनको सम्झना : मञ्चन भइरहेको छ 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'



पहिलोपोस्ट

मण्डला थिएटरमा भूपी शेरचनको सम्झना : मञ्चन भइरहेको छ 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'

काठमाडौं: मञ्चमा देखिन्छन् दाउरा र काठहरु। माथिबाट विस्तारै झरिरहेको एक मानव शरीर। सो शरीरलाई सेतो कपडाले छोपिएको छ। झट्ट हेर्दा लाग्छ लासजस्तो।  शरीरलाई चितामा राखिन्छ। तर, चितामा राखिएको मानिस विस्तारै उठ्न खोज्छ। जोरले कराउन सुरु गर्छ।

चिताबाट बाहिर आएपछि ती व्यक्ति केही लेख्छन्, यसो हेर्छन्, चित्त बुझ्दैन अनि केर्छन् र पुन: लेख्छन्। पुन: हेर्छन्  र लामो सास फेर्छन् अनि भन्छन्:

‘कठैबरा, विचरा ‘भूपी’ शेरचन।’ 

भूपीको नाम लिँदै 'ॐ भूर्भुवः स्वः’ मन्त्र पढ्दै पूजा गर्छन् उनी। त्यसपछि ठूलो आवाजमा भन्न थाल्छन्:

२००७ सालमा के भयो?

पुरानो सबै ढल्यो नयाँ आयो रे

भयो भयो तानाशाह गयो रे

नयाँ प्रजातन्त्र आयो रे

अब विकास हुन्छ

स्वतन्त्र हुन्छ है

अब हेर्नुस् के के हुन्छ?

म अर्काको कुरामा

लिरिङ लिरिङ हिड्ने मान्छे हुँ र

मलाई परिवर्तन गरेर देखाउ त

कसैको हिम्मत छ !

यो दृश्य हो नाटक ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ को। भूपी शेरचनको चर्चित कविता ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ मा आधारित यो नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ। हिजोदेखि सुरु भएको नाटक माघ २८ गतेसम्म चल्नेछ।

यो नाटक भूपी शेरचनको प्रस्तुती गर्ने एउटा प्रयोगात्मक एकल प्रस्तुती हो। जसमा कलाकार राजकुमार पुडासैनीको अभिनय छ। रोज स्वाइज निर्देशित यस नाटकले नेपालको राजनीतिक इतिहासमा आएको परिवर्तन र निराशाबिचको कथा भन्छ। नाटकले २००७ हुँदै २०१७, २०४६ र २०६२ सालका राजनितिक घटनाक्रमलाई पछ्याउँछ। 

यी भोकमा डुबेका चोकहरुमा

यी वैलाएका कलीजस्ता गल्लीहरुमा

हेर्छु एक–दुई दिन बसेर बास

तब मलाई गलत लाग्छ

मेरो देशको इतिहास

राजकुमारको शारिरिक हाउभाउ, साहित्यिक प्रस्तुती र सशक्त अभिनयले कवितालाई जीवन्त बनाएको छ। नाटकको पात्रमा राजकुमारको पात्र 'फिट' छ। नेताहरुले भाषणमा गर्ने ठूला ठूला कुरा अनि देशको वास्तविक अवस्थालाई नाटकले व्यङ्ग्य गर्छ। यो कविता छ दशक अघि लेखिएको भएता पनि वर्तमान नेपाली समाजसँग सान्दर्भिक लाग्छ।

त्यस्तै, नाटकले नेपालको इतिहासलाई समेत गिज्जाउँछ। नाटकले के नेपालको इतिहास सही थियो? भन्ने प्रश्न गर्छ। नाटकमा प्रयोग गरिएका 'मेटाफोर'हरुले नाटकलाई थप सुन्दर बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell