काठमाडौँ: साफ यू २० महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भुटानमाथि जित निकालेको छ। बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानमाथि ४-० को जित निकाल्दै आफ्नो दोस्रो खेलबाट पहिलो जित निकालेको हो।
नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पुरा गर्दा कप्तान प्रीति राईले एक गोल फर्काइन्।
खेलको १९ औं मिनेटमा अमिसाले अग्रता दिलाइन्। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा अर्को गोल थप्दा नेपाल पहिलो हाफमा दुई गोलले अघि रह्यो। त्यस्तै खेलको ६१ औं मिनेटमा प्रिती राईले र ६२ औं मिनेटमा अमिसाले गोल थप्दै ह्याट्रिक पुरा गरिन्। त्यसअघि नेपालले पाएका केही उत्कृष्ट अवसरहरु सदुपयोग गर्न चुकेको थियो।
नेपालले यसअघि बंगलादेशसँग ३-१ गोलको पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको थियो। अर्कोतर्फ भारतसँग १२-० गोलको पराजय ब्यहोरेको भुटानले लगातार दोस्रो हार ब्यहोरेको हो।