
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले रविन्द्र मिश्रलाई नेपाली राजनीतिले कहिल्यै माफी नदिने टिप्पणी गरेका छन्। आइतवार विशेष पत्रकार सम्मेलनमार्फत लामिछानेले विवेकशील साझा दुर्घटना गराउने नै मिश्र भएको आरोप लगाए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका मिश्र यसअघि विवेकशील साझाका अध्यक्ष थिए। उक्त पार्टीमा चालक बन्छु भनेर घुसेको र हाम्फालेर मिश्रले दुर्घटनामा पारेको रविको भनाई थियो।
'रविन्द्र मिश्र जी उज्वल थापाहरुले सानो थियो होला तर इमानका साथ राजनीतिको गाडी अगाडि बढ्दै थियो। त्यो गाडीको चालक म हुन्छु भनेर तपाई घुस्रनुभयो। चल्दाचल्दैको गाडीबाट तपाई हाम्फाल्नुभयो। आज विवेकशील साझा लडाइदिनुभयो,' लामिछानेले भने, 'अहिले तपाई मलाई इमान सिकाउनुहुन्छ। टेलिभिजन इन्टरभ्यूमा गएर। मलाई तपाईबाट इमान सिक्नुछैन। मलाई केही छैन हाम्रो उम्मेदवारले हारेकोमा तर चल्दाचल्दैको गाडी तपाईले दुर्घटनामा पार्नुभो। त्यो दुर्घटनाका लागि तपाईलाई नेपाली राजनीतिले कहिल्यै पनि माफ गर्न सक्दैन।'
विवेकशील साझा पार्टीको संस्थापक अध्यक्ष उज्वल थापाको निधन भइसकेको छ। हाल यस पार्टीको अध्यक्ष समीक्षा बास्कोटा रहेकी छन्।