PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सेतो बेलुनले टकरावमा पुगेको चीन-अमेरिका सम्बन्ध, सैन्य टकरावको नजिक पुर्‍याउने १९९९ र २००१ का ती घटना



विधुर ढकाल

सेतो बेलुनले टकरावमा पुगेको चीन-अमेरिका सम्बन्ध, सैन्य टकरावको नजिक पुर्‍याउने १९९९ र २००१ का ती घटना
Photo : bbc.com

सांघाई: गत वर्ष नोभेम्बरमा बालीमा सम्पन्न जी २० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच भएको वार्तापछि दुई देशबीचको तनाब कम हुँदै गएको थियो। त्यही वार्ताको परिणामस्वरुप अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन बेइजिङ भ्रमणको तयारीमा थिए। तर, एकाएक पुन: दुई देशबीचको सम्बन्ध तनाबपूर्ण अवस्थामा पुगेको छ। कारण हो- 'अमेरिकी आकाशमा पुगेको चिनियाँ बेलुन'। 

अमेरिकाले आइतबार मिसाइल प्रहार गरी बेलुनलाई खसाइसकेको छ। साता दिनसम्म अमेरिकी आकाशमा उडिरहेको बेलुनलाई अमेरिकाले चिनियाँ 'जासुसी बेलुन'को संज्ञा दिइरहेको छ। अर्कोतर्फ चीनले भने यसलाई सैन्य बेलुन नभई 'सिभिलियन' बेलुन दाबी गर्दै आएको छ। सिनो-युएस सम्बन्धमा नै दरार पैदा गर्ने यो बेलुनलाई खसाल्नका लागि अमेरिकाले एक साता लगायो। 

आइतबार (स्थानीय समय अनुसार शनिबार) अमेरिकी सेनाको फाइटर जेटले बेलुनलाई दक्षिण क्यारोलिनाको समुद्री किनारामा खसाएको हो। राष्ट्रपति बाइडेनले बुधबार नै खसाल्ने निर्देशनमा हस्ताक्षर गरे पनि पेन्टागनले पर्खन सुझाव दिएको थियो। जब मानव बस्तीबाट बेलुन समुद्री तटतिर पुग्यो अमेरिकी सेनाले यसलाई मिसाइल हानी खसाल्यो। 

"उनीहरूले यसलाई सफलतापूर्वक तल ल्याए, र म हाम्रा एविएटरहरूलाई प्रशंसा गर्न चाहन्छु जसले यो गरे," बाइडेन भनेका छन्।

एउटा क्षेप्यास्त्रको सहाराले आकाशमा रहेको उक्त बलुनविरुद्ध एफ-२२ लडाकु जेटले कारबाही अघि बढाएको थियो। अमेरिकी रक्षा अधिकारीहरूले अमेरिकि सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटलबीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जनाएको सीएनएनले जनाएको छ। 

क्षेप्यास्त्रले खसालिएको बेलुनको भग्नावशेषहरु ११ किलोमिटरको क्षेत्रमा फैलिएको र त्यसलाई खोज्नका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेनको प्रयोग गरिएको छ। 

यसलाई खसाल्नका लागि अधिक लडाकु विमान तथा रिफ्युलिङ विमान परिचालन गरिएकोमा भर्जिनिया एयरबेलबाट परिचालन गरिएको एफ-२२ लडाकु बिमानले स्थानीय समय अनुसार शनिाउर दिउसो २:३९ मा खसालेको थियो। त्यसका लागि सिंगल एआईएम-९ एक्स सुपरसोनिक, हिट-सिकिङ, एयर-टु-एयर मिसाइलको प्रयोग गरिएको अमेरिकी एक रक्षा अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। 

सम्बन्धमा उत्पन्न दरार
अमेरिकी आकाशमा बेलुन देखिएको दुई दिनसम्म अमेरिकी अधिकारीहरुले यसलाई सार्वजनिक रुपमा टिप्पणी गरेका थिएनन्। बाइडेनले बुधबार नै खसाल्न निर्देशन दिए पनि यसलाई खसाइएको थिएन्। बिहीबार मात्र पेन्टागनका अधिकारीले यसबारे सार्वजनिक जानकारी गराएका थिए।

बेलुन अमेरिकी आकाशमा प्रवेश गरेसँगै यसको निगरानीका लागि फाइटर विमान परिचालन गरिएको थियो। बाइडेनलाई यसलाई खसाल्दा हुन सक्ने क्षतिको आकल गर्दै नखासल्न सुझाव दिइएको थियो। सोही अनुसार यसलाई खसाल्न अमेरिकाले समय लगायो। अमेरिकी अधिकारीले बेलुन अमेरिकी आकाशमा प्रवेश गरेसँगै 'नियन्त्रण'मा लिइएको बताएका थिए। पाइलटसहितको सैन्य विमानमार्फत यसलाई नियन्त्रण र निगरानीमा राखेको जनाएको थियो। 

बेलुनसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिँदै गयो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको बेइजिङ भ्रमण स्थगित गर्‍यो। उनको भ्रमण आगामी साता हुने चर्चामा थियो। यद्यपि दुबै देशले भ्रमणको मिति आधिकारिक रुपमा सार्वजनिक भने गरिसकेका थिएनन्। 

अमेरिकी विदेशमन्त्री ब्लिंकनको भ्रमण एकतर्फी स्थगति गर्नुको कुनै औचित्य नभएको टिप्पणी गरेको छ। 'वास्तवमा, कुनै पनि पक्षले भ्रमण गर्ने घोषणा गरेको छैन।  अमेरिकाले आफ्नो पछिल्लो घोषणा गर्ने कुरा अमेरिकाको आफ्नो कुरा हो। र  हामी त्यसलाई सम्मान गर्छौं,' चिनियाँ विदेश मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै भनेको छ। 

चनियाँ विदेश मन्त्रालयले बेलुनको अमेरिकी आकाशमा प्रवेशलाई अनपेक्षित भनेको छ। उसले बेलुनलाई नागरिक एयरसिप भन्दै यसको प्रयोग मौसम विज्ञानको प्रयोगका लागि भएको दाबी गरेको छ। साथै उसले बेलुन सीमित सेल्फ स्टियरिङ क्षमता भएको र योजना अनुरुपको कोर्सबाट टाढा गएको बताएको छ। 

मिति सार्वजनिक नभए पनि शनिबार अमेरिकी विदेश मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका उच्च अधिकारीले विदेश मन्त्री ब्लिंकन शनिबार राति नै भ्रमणमा निस्किने तयारीमा रहेको बताएका थिए। 

'मन्त्री आज राति बेइजिङ प्रस्थान गर्न तयार थिए, व्यापक एजेन्डा लिएर। जसमा सम्बन्धका सबै तत्वहरू समेटिएको थियो,' अमेरिकी विदेश मन्त्रालयका अधिकारीले भनेका थिए। 

भ्रमण स्थगति गरेसँगै अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चिनियाँ राष्ट्रपति सिका वरिष्ठ कूटनीतिक सल्लाहकारसमेत रहेका स्टेट काउन्सिलर वाङ यीसँग टेलिफोन सम्बाद गरेका छन्। उनले संयुक्त राज्य अमेरिका कूटनीतिक संलग्नता र सञ्चारको खुला लाइन कायम राख्न प्रतिवद्ध रहेको र परिस्थितिले अनुमति दिएमा बेइजिङ भ्रमण गर्न तयार रहेको बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।  

यता अमेरिकी सेनाले बेलुनलाई खसाएपछि चीनले त्यसको विरोध जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले वक्तव्य मार्फत 'गभ्भीर असन्तुष्टि र विरोध' जनाएको हो। 

'चिनियाँ पक्षले निरन्तर अमेरिकी पक्षलाई उक्त बलुन गैरसैनिक प्रयोजनका लागि भएको र त्यो बाटो बिराएर त्यहाँ पुगेको बताएको थियो। त्यो पूर्ण रूपमा दुर्घटना थियो,' चिनियाँ विदेश मन्त्रालयले भनेको छ

चिनियाँ रक्षा मन्त्रालयले पनि अमेरिकी वायु सेनाले अमेरिकी वायुक्षेत्रमा अनपेक्षित रूपमा प्रवेश गरेको चिनियाँ नागरिक मानवरहित हवाई जहाजलाई खसालेको भन्दै अमेरिकी कदमको विरोध जनाएको छ। 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल तान खफेइले वक्तव्य जारी गर्दै भनेका छन्- 'हामी अमेरिकी पक्षको यो कदमको गम्भीरतापूर्वक विरोध गर्दछौं र यस्तै परिस्थिति सामना गर्न आवश्यक कदम चाल्ने अधिकार सुरक्षित राख्छौं।' 

यता चिनियाँ रक्षा विज्ञहरुले भने अमेरिकी कदमलाई 'लामखुट्टे मार्न तोपको प्रयोग'को संख्या दिएको ग्लोबल टाइम्सले जनाएको छ। 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताको चेतावनीले दुई देशबीच सैन्य टकराव निम्तिने खतरा बढेको विश्लेषणसमेत गरिएको छ। 'यदि चिनियाँ आकाशमा पनि त्यस्तै विमान देखिए भने चिनियाँ सेनाले पनि खसाल्नेछ,' ग्लोबल टाइम्सको टिप्पणीमा भनिएको छ। 

'यो स्पष्ट छ की अमेरिकी विमान चाहे ती सैन्य प्रयोजनका लागि हुन वा नागरिक प्रयोजनका लागि हुन्। चिनियाँ भूमि वरिपरि देखिइरहनछन्,' चाइनिज एकेडेमी अफ सोसल साइन्सको अमेरिकी अध्ययनका विज्ञ लु सियाङले भनेका छन्, 'यदी अमेरिकाले नागरिक र सैन्य विमानमा फरक छुट्याउन सक्दैन भने यसले चीन अमेरिकी सम्बन्धमा गलत नजिर बसाल्नेछ।'

सैन्य मुटभेटबाट जोगिएका थिए दुई देश यसअघि पनि 
हालको यो वेलुन प्रक्रणमा दुई देशबीच कूटनीतिक र सैन्य टकराव रहँदा यसअघि पनि यस्ता घटना भएका थिए। जसले दुई देशलाई सैन्य टकराबको नजिक पुर्‍याएको थियो। ती घटनाहरु कूटनीतिक संवादबाट समाधान गरेका थिए। 

१९९९ को मे ७ को मध्यरात अमेरिकी नेतृत्वको नाटो सैन्य गठबन्धनले युगोस्लोभाकियाको राजधानी बेलग्रेड स्थित चिनियाँ दूतावासमा मिसाइल प्रहार गरेको थियो। घटनामा परी तत्कालै दुई चिनियाँ अधिकारी र पछि एक जनाको उपाचारको क्रममा मृत्यु भएको थियो। 

यो आक्रमणपछि अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले सार्वजनिक रुपमा माफी मागेका थिए। यसलाई चिनियाँ अधिकारीले नियोजित आक्रमण भएका थिए। त्यस्तै फ्रान्सको रक्षा मन्त्रालयले जारी गरेको रिपोर्टमा आक्रमणको नेतृत्व अमेरिकी कमाण्डमा रहेको र नाटोको फ्रेमवर्क बाहिर गएर भएको स्पष्ट पारेको थियो। 

यस आक्रमणपछि दुई देशबीचको सम्बन्ध चिनिसिएको थियो। चीनले आक्रमण नियोजित भएको आरोप लगाउँदै आएको थियो। पछि अगस्टमा अमेरिकाले घटनामा मृतकका परिवार र घाइतेलाई क्षतिपूर्ति दिनुका साथै अमेरिकाले चीनलाई दूतावासमा भएकको क्षतीपूर्ति दिन सहमत भएको थियो। 

त्यतिवेला बेइजिङमा राष्ट्रवादी समूहको आन्दोलन चर्किँदै थियो। यो समूहले बेइजिङस्थित अमेरिकी दूतावासमा पनि क्षति पूर्‍याएको थियो। अमेरिकाले बेलग्रेडको क्षतीपूर्ति दिएपछि चीनले पनि बेइजिङ दूतावासमा भएको क्षतीपूर्ति दियो। यस समय दुई देश सैन्य टकराबको अवस्थामा पुगेका थिए। चीनले अमेरिकासँगका सबै संवाद कटौती गरेको थियो। त्यतिवेला एउटा सम्बादलाई भने जारी राखेको थियो। जुन संवादले चीनलाई डब्लुटिओको सदस्य बनायो। सन् २०००मा युएस चाइना ट्रेड बिल अमेरिकी सदनले पास गर्‍यो। जुन पछि अमेरिका चीन सम्बन्धको ऐन २००० बन्यो। २००० को जुनमा अमेरिकी विदेशमन्त्री मडेलेइन अल्ब्राइटले बेइजिङको भ्रमण गरे। त्यस भ्रमणको क्रममा दुबै देशबीच सम्बन्ध सुधार भएको घोषणा गरे। 

यस घटनालाई अमेरिकाले प्राविधिक कमोजरी भन्दै 'जिओलोजिकल लोकेसनको डेटा गलत पर्न गएको' भन्दै टिप्पणी गरेको थियो। 

हैनान आइल्याण्ड एक्सिडेन्ट
सन् २००१ को अप्रिल १ मा अमेरिकी नेभीको इपी-३ ई एरिज आईआई सिंग्नल इन्टेलिजेसन्स एयरक्राफ्ट र चिनियाँ जनमुक्ति सेनाको नेभीको जे-८आईआई फाइटर जेट एकापसमा ठोकिएका थिए। यसले दुई देशबीच सैन्य टकराबको अवस्था सिर्जना भएको थियो।

अमेरिकी सेनाको विमान चिनियाँ टापु हैनानबाट ११० किलोमिटर पर तथा चिनियाँ सेनाको मिलिटरी इन्स्टलेसन पार्सल टापुबाट १६० को दुरीमा उपस्थित भयो। चिनियाँ सेनाको दुई बिमानले उक्त विमानलाई रोके। यही क्रममा अमेरिकी विमान र चिनियाँ एक विमान ठोकिन पुगे। चिनियाँ एक विमान दुर्घटना भयो। र चालकको मृत्यु भयो। अमेरिकी विमानले हैनान टापुमा चिनियाँ अनुमतिबिनै आपतकालीन अवतरण गर्‍यो। 

अमेरिकी विमान रहेका २४ सदस्यलाई चीनले नियन्त्रणमा लियो। चिनियाँ गुप्तचरीका लागि उडेको अमेरिकी विमानका वायु सेनाका सदस्यहरुले संकलित सामाग्री नष्ट गरिसकेका थिए। केही सामाग्री नष्ट गर्न बाँकी थिए। त्यसलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएका थिए। 

अमेरिकाले त्यतिवेला दुई वटा पत्र पठाएर चिनियाँ चालकको मृत्युप्रति क्षमा मागेको थियो। त्यस्तै अमेरिकी जहाज चिनियाँ एयरस्पेसमा प्रवेश गरेको प्रति पनि क्षमा माग्यो। उसले अमेरिकी सेनाका अधिकारी र विमान फिर्ता दिन माग गर्‍यो। 

चीनले अमेरिकालाई घटनाप्रति माफी माग्न दबाब दिएको थियो। तर, अमेरिकाले घटनाप्रति दु:ख व्यक्त गर्‍यो। तर माफी शब्द उल्लेख गरेन। तर, अमेरिकी दूतावासले पठाएको चिनियाँ भाषाको अनुवादित पत्रमा उल्लेख भएको शब्दमा भने अमेरिका भित्रै विवाद थियो।  

चीनले अप्रिल ११ मा अमेरिकी अधिकारीलाई रिहा गर्‍यो। मृत्यु भएका चिनियाँ सेनाकी पत्नीलाई अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले समवेदना पत्र लेखे। अमेरिकाले विमान मर्मत गरी फिर्ता लैजानका लागि प्राविधिकलाई प्रवेशको अनुमति माग्यो। तर, चीनले सो विमानलाई उडेर जान अनुमति दिएन्। पछि त्यस विमानलाई भत्काएर रुसी विमान मार्फत अमेरिका पुर्‍याइयो। तत्कालीन अवस्थामा दुबै देशले घटनापछि सैन्य अधिकारी भन्दा कूटनीतिक अधिकारीलाई अगाडि सारेर तनाब कम गरे। 

'घटनामा अमेरिकी सेनाको संलग्नता थियो। चिनियाँ सेनाका जवानको मृत्यु भएको थियो। अमेरिकी सेनाको विमान चिनियाँ भूमिमा थियो। अमेरिकी सेनाका अधिकारी चिनियाँ नियन्त्रणमा थिए,' सांघाई स्थित इष्ट चाइना नर्मल युभिर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्रध्यापक एलेन लिन्च भन्छन्- 'सैन्य टकरावको स्थिति पैदा भएको थियो। तर दुबै देशले वुद्धिमतापूर्ण रुपमा कूटनीतिक च्यानलबाट तनावलाई समाधान गरे।'

उनले समस्याको समाधानका लागि घटना लगत्तै दुबै देशका रक्षा मन्त्रालयलाई नभई विदेश मन्त्रालयलाई परिचालन गरी सैन्य टकराब रोकेको उनी बताउँछन्। 

अहिलेको अवस्था पनि त्यस्तै सिर्जना भएको छ। तनाबपूर्ण रहेको चीन र अमेरिकाबीचको सम्बन्धमा नयाँ तनाबको रुपमा बेलुन देखिएको छ। यसलाई पनि कूटनीतिक संवादबाट हल गर्नुपर्ने विश्लेषकहरु बताउँछन्। 

'हामीले लामो समयदेखि जनवादी गणतन्त्र चीनसँगको हाम्रो सम्बन्ध सायद सबैभन्दा परिणाममुखी र जटिल सम्बन्ध हो भनी भन्दै आएका छौं। त्यो स्पष्ट रूपमा आज पनि सत्य रहन्छ। हामीले सधैं जस्तै यस वर्तमान अवस्थालाई निर्णायक, सक्रिय र जिम्मेवारीपूर्वक सम्बोधन गरेका छौं। र हामी यसलाई अगाडि बढाउन जारी राख्नेछौं,' अमेरिकी विदेश मन्त्रालयका अधिकारीले पत्रकार सम्मेलनमा भनेका छन्,'यो सबैभन्दा जटिल सम्बन्धको व्यवस्थापनमा कूटनीति केन्द्रमा रहनेछ, र त्यसैले, मन्त्रीदेखि तलसम्म, हामीमध्ये धेरैले हाम्रा सन्देश स्पष्ट रूपमा व्यक्त गर्न हाम्रा चिनियाँ समकक्षहरूसँग नियमित र निरन्तर सम्पर्कमा छौं। हाम्रो चिन्ता; र, फेरि, यस मुद्दालाई जिम्मेवार तरिकाले व्यवस्थापन गर्नुमा नै हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell