PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रवि लामिछाने 'सेकेन्ड' ओली कि भाइ कांग्रेस?



नेत्र तामाङ

रवि लामिछाने 'सेकेन्ड' ओली कि भाइ कांग्रेस?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार डेढ घन्टा लगाएर मनको भँडास पोखे। नागरिकता पुन: कायम नगरेकै कारण माघ १३ गते सर्वोच्च अदालतको एकै आदेशले चार पद चट भएपछि रन्थनिएका रविले यो भँडास नपोखाउन कसरत नगरेका होइनन्। उनले गृहको हत्ते गरे।

तर सत्ताको लगाम समातेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँगैको यात्रामा रविलाई राख्नै नचाहेपछि रास्वपा ४१ दिनमै सरकारबाट आउट भयो। यही झोकमा सीधा कुरा गरे। यो सरकारमा रवि ३२ दिन बस्न पाए भने रास्वपाका अरु मन्त्रीले २० दिनमात्र मन्त्रालयमा हाजिर हुन पाए। मंसिर पुस ११ को पहिलो मन्त्रिपरिषद्मा रवि उपप्रधान तथा गृह बने पनि माघ ३ मामात्र मन्त्रिपरिषद विस्तार भयो। रास्वपाबाट रविसहित शिशिर खनाल, डोलप्रसाद अर्याल  मन्त्री बन्दा डा तोसिमा कार्की राज्यमन्त्री बनेकी थिइन्। 

पब्लिक खपतका कुरा, राजनीतिक दलका नेताबारे मौन

रवि टेलिभिजनका कार्यक्रममा नेताहरुको भण्डाफोर गर्न उत्रन्थे। उनै नेतासँग अहिले रविको उठबस हुन थालेको छ। यसैले पनि होला रविले आइतबार नेताहरुबारे चुइक्क बोलेनन्। बरु उनले पत्रकारितामा सक्रिय रहेका ऋषि धमलालाई सर्कसको जोकर भन्न भ्याए भने पत्रकारिता छाडेर राजनीतिमा जोडिएका रविन्द्र मिश्रलाई विवेकशील साझा सक्काउने पात्रको रुपमा लञ्छना लगाए। त्यस्तै ट्वीटरमा सक्रिय रहेका डा रामेश कोइरालालाई पनि रिस साँध्न भ्याए। आफ्नै कारण पद गुमाएका रविले मिडियाका १२ भाइमाथि नामै किटेर पटकपटक आक्रोश पोखे। तर राजनीतिमा आफ्नो भविष्य खोज्न अब नेताहरुलाई छुन नहुने रहेछ भन्ने 'माइन्ड वास' सायद कसैले गरेकै होला रविको। त्यसैले उनी नेतामाथि पोखिएनन्। किन भने सत्ता साझेदारीका लागि 'हबनब' को स्पेस त बाँकी राख्नैपर्‍यो। अर्को सर्वोच्चको पूर्णपाठले सेक्ने डर उत्तिकै छ।   

उनले विशेष पत्रकार सम्मेलन गर्नुअघि कांग्रेस उपसभापति धनराज गुरुङले ड्याङमा मिसिन आएका उही ड्याङका मुला भएको तुलना गरेका थिए रविको। नभन्दै नेतामाथि चुईक्क नबोलेर उनले गुरुङको भनाईलाई पुष्टि गरिदिए। गुरुङले रवि पनि कानै चिरेको जोगी रहेछ भन्दै अभिव्यक्ति दिएका थिए प्रतिनिधि सभामा।

'मन्त्री प्रधानमन्त्रीकै लागि झिनाझम्टी गरिरहेका छौ। नयाँ साथीहरु आउनुभयो। केही परिवर्तन हुन्छ कि भन्ने थियो। तर बडो गजब भयो,' गुरुङले भनेका थिए, 'जुन जोगी आए पनि कानै चिरेकै भन्थ्यौं हामी। हामी त कान चिरेका थियौं। नयाँ पनि कानै चिरेका रहेछन्। अर्को उखान छ -तिमी पनि त उही ड्याङको मुला त हो नि। हैन भन्थे म। तर उही ड्याङकै जस्तै भयो।'

सेकेन्ड ओली?

रविले विशेष पत्रकार सम्मेलन गर्न लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली संसदमा कांग्रेसमाथि भँडास पोख्दै थिए। आफ्नो साढे २ वर्षे नेतृत्वमा गरेको कामको फेहरिस्त सुनाउँदै ओलीले रविको बचाउ गरेका थिए। ओलीले रविले प्रक्रियागत त्रुटिमात्र गरेको दाबी पेश गर्दै उनीमाथि अन्याय भएको तर्क गरेका थिए। ओलीको एउटै रटान थियो - रविलाई कारबाही हुँदा कसलाई न्याय भयो? 'प्रक्रियागत त्रुटि हुन गएछ। त्यतिमा सांसद गयो। गृहमन्त्री गयो। उपप्रधामन्त्री गयो। सभापति गयो। न्याय भयो कि भएन। रवि लामिछानेलाई न्याय नभए कसलाई भयो? मैले न्याय पाएको कोही देखिनँ,' ओलीले भनेका थिए।

जब ओली भाषणबाजीमा उत्रन्छन् - जस्तै तथ्यहीन कुरा राखे पनि कार्यकर्ता गलल हास्ने र परर ताली बजाउन अघि बढिहाल्ने। आज रविको भाषणमा पनि कार्यकर्ता त्यस्तै शैलीमा उत्रिए। कुनै बेला ओलीले मिडियामाथि आक्रोश पोखेका थिए - आफूलाई तपाईं नलेखेकोमा। आज यसैगरी रविले मिडियामाथि आक्रोश पोखे। २०७६ को असार र असोज गरी दुईपटक मिडियासँग रिस पोखेका थिए ओलीले।  ‘सञ्चारमाध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबुबालाई पनि तिमी। सबैलाई तिमी भन्छन्। यो त नेपाली भाषाको मर्मविपरीत भयो,’ ओलीले भनेका थिए। हिजो मिडियामा आफ्नो मोनोपोली चलाएर उदाएका रविले आज मिडियाको मोनोपोलीको विरोध गरे। आफ्नो गल्ती स्विकार्न नसक्ने तर मिडियाले पेलेकै कारण पद गएको अभिव्यक्ति दिन भ्याए।

मीठामीठा उखान र प्रसंगले मक्ख पार्न सक्ने ओली कौशल झैं रविको भाषणकला पनि मोहित पार्ने खालको देखिन्छ। रविले आइतवारको भाषणमा आफूसँग झुक्याउनसक्ने क्षमता भएको पुष्टि गरे। 'म धेरै बौद्धिक त हैन। तर तपाईंलाई झुक्याउन सक्ने क्षमता छ मसँग,' उनले भने।

पत्रकारिता गरिरहेकालाई चुनावमा भिड्न आउन चुनौति दिने अनि सबैको नाम डामेर 'ओली स्टाइल'मा चर्चामा आउन खोज्ने प्रवृत्ति रविमा प्रष्टै देखिन्छ। रविको मन्तव्यमा ओलीको झैं 'कमेडी कन्टेन्ट' पनि भरपुर थियो आज।

भाइ कांग्रेस?

रवि लामिछानेको पार्टी रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जित्दा धेरैले यो पार्टीलाई 'घन्टी कांग्रेस' को नाम दिइएको थियो। किनभने कतिपय जित्नेहरु कांग्रेसबाटै खुसुक्क घण्टी बजाउन गएका थिए। कांग्रेसकै पराजित उम्मेदवारहरु कांग्रेसकै नेता कार्यकर्ताको ब्याक सपोर्टका कारण रास्वपाको उम्मेदवारले जित निकालेको भन्दै सभापति शेरबहादुर देउवाकोमा पुगेका थिए। यसको नेतृत्व गरेको भन्दै कांग्रेस महामन्त्री गगन थापामाथि पटकपटक आरोप लाग्ने गरेको छ। यद्यपि यो पुष्टि हुने कुरा भएन। यस्तो आधारहीन कुरा लेखेको भनेर रविले मिडिया घेर्न आउन पनि बेर छैन। किनभने उनले आजै चेतावनी दिन भ्याइसकेका छन्।

कांग्रेसले विश्वासको मत दिने तर प्रतिपक्षको बेन्चमा बस्दा धेरै आलोचना गर्ने रास्वपाका नेता कार्यकर्ता पनि थिए। तर आज रास्वपा यही लाइनमा उभिएको छ। सरकारबाट आउट तर समर्थन भने कायमै। प्रतिनिधि सभामा अहिले 'भाइ कांग्रेस'को छवि बनाएको छ रविको पार्टीले। आफूलाई आलोचना र खेदोले लखेट्दा लखेट्दा उपप्रधानमन्त्रीसम्म बन्न सफल भइसकेको ठोकुवा गरेका रविको अबको मिसन छ प्रधानमन्त्री। हुन त उनले यसअघि चुनावमा पनि प्रधानमन्त्री भनेरै प्रचार गरेका थिए। तर अर्को पटक त प्रधानमन्त्री बन्ने गरी नै जितेर आउने दाबी गरेका छन्। ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन। आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो। कसैले खेदेर डराउँदिनँ। म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु,' रविले आज भनेका छन्। तर कुनै बेला नेतालाई गाली गरेर राजनीतिमा छिरेका रविले आज मिडियालाई तथानाम भन्न भ्याए। भोलि जनतालाई गाली गरेमा अनौठो नमाने हुन्छ भनेर कतिपयले भन्न थालिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell