इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर सिटीलाई हराएको छ। टोटेनहम हटस्पर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले सिटीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।
टोटेनहमको जितमा ह्यारी केनले कीर्तिमानी गोल गरे। उनले खेलको १५ औं मिनेटमा पिअरे इमाइल होएब्यको पासमा निर्णायक गोल गरे। योसँगै उनी टोटेनहमका लागि सर्वाकालीन सर्वाधिक गोलगर्ने खेलाडी बनेका छन्। टोटेनहमबाट यो उनको २६७ औं र प्रिमियर लिगमा २०० औं गोल हो। यसक्रममा उनले जिम्मी ग्रिएभ्सको कीर्तिमानलाई पछि पारे। प्रिमियर लिगको पनि सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा केन तेस्रो स्थानमा छन्। यो सूचिमा एलेन सिअरर २६० गोलसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा २०८ गोल गरेका वायने रुनी छन्।
अर्कोतर्फ अधिकांश समय खेलमा पकड बनाएको सिटी भने गोल गर्न असफल रह्यो। खेलको ८७ औं मिनेटमा क्रिस्टियन रोमेरोले रेड कार्ड ब्यहोर्दा टोटेनहम १० खेलाडीमा समेटिएको थियो।
शीर्ष स्थानको आर्सनलले एभर्टनसँग पराजय ब्यहोरेको समयमा अंकदुरी छोट्याउने राम्रो अवसर सिटीले गुमाउन पुग्यो। आर्सनल २० खेलबाट ५० अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानको सिटीले २१ खेलबाट ४५ अंक जोडेको छ। त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमश ४२ र ४० अंक जोडेका म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड रहँदा टोटेनहम ३९ अंक जोडेर पाँचौँ स्थानमा छ।