PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पुरुषमा यौन सन्तुष्टि नहुने भ्रम, महिलालाई ‘साइड इफेक्ट’को डर : ‘एबोर्सन’ बन्यो परिवार नियोजनको माध्यम



रिना थापा

पुरुषमा यौन सन्तुष्टि नहुने भ्रम, महिलालाई ‘साइड इफेक्ट’को डर : ‘एबोर्सन’ बन्यो परिवार नियोजनको माध्यम
Photo: Unsplash/RHSupplies

पोखरा : रुपा गाउँपालिकाका दम्पती केही दिन अगाडि परिवार नियोजन संघ कास्कीमा आए। दुई बच्चा जन्माइसकेका ती दम्पतीको योजना थप बच्चा नजन्माउने थियो।

परिवार नियोजनका लागि कुनै पनि अस्थायी वा स्थायी साधन प्रयोग भने गरेका थिएनन् उनीहरुले। जसकारण अनिच्छुक गर्भ बस्न गयो।

अनिच्छुक बसेको गर्भ फाल्नका लागि ती दम्पती परिवार नियोजनमा पुगेका थिए। चिकित्सकले उपचार गर्दै गर्दा महिलाले यो भन्दा अगाडि दश पटकसम्म गर्भ फाल्ने औषधी मेडिकलबाट खाइसकेको बताइन्। असुरक्षित यौन सम्पर्क गरेपछि रहन गएको बच्चा फाल्न श्रीमानले मेडिकलमा पाइने औषधी सजिलै श्रीमतीलाई ल्याएर दिन्थे।

चिकित्सकले परिवार नियोजनको साधन नअपनाउनुको कारण सोध्दा पाठेघरमा समस्या आउने प्रतिक्रिया दिए ती दम्पतीले। चिकित्सकले सल्लाह र सुझाव दिएको एकहप्ता पछि श्रीमान आएर स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गरेर गए।

त्यसैगरी, पोखरा आर्वाकी ३६ वर्षीय महिलाले परिवार नियोजनका लागि ‘इम्प्लान्ट’ प्रयोग गरिन्। ‘इम्प्लान्ट’ राखेको केही समयपछि उनको महिनावारीमा समस्या देखिन थाल्यो। महिनावारी समयमा नहुने, रगत बगिरहने स्वास्थ्य समस्याले उनलाई सतायो। स्वास्थ्यमा समस्या देखिन थालेपछि उनी ‘इम्प्लान्ट’ निकाल्नका लागि परिवार नियोजनमा पुगिन्।

परिवार नियोजनको अस्थायी साधनमध्येको ‘इम्प्लान्ट’ पाखुरामा राखिन्छ। जसले पाँच वर्षसम्म काम गर्छ। चिकित्सकले तीन महिने सुई लगाएका व्यक्तिलाई केही स्वास्थ्य समस्या नदेखे ‘इम्प्लान्ट’ राख्न सुझाउँछन्।

‘इम्प्लान्ट’ राखेपछि केही समस्या देखिएमा चिकित्सकले त्यसको उपचार गर्छन्। उपचार गर्दा पनि स्वास्थ्यमा समस्या देखिए अन्तिममा ‘इम्प्लान्ट’ निकाल्छन्। ‘इम्प्लान्ट’ राखेको केही समयपछि महिनावारीमा गडबडी भएपछि ती महिलाले ‘इम्प्लान्ट’ निकाल्न जोड गरिन्।

पछि परिवार नियोजन संघकी चिकित्सक अनुषा जिसीले काउन्सिलिङ गरेपछि ‘इम्प्लान्ट’ झिकिहाल्ने मनाशयबाट पछि सरिन्। उनलाई चिकित्सकले उपचार गरे। उपचारपछि पनि उनको समस्या नहटे चिकित्सकले ‘इम्प्लान्ट’ निकाल्नेछन्।

एक महिना अघि मात्र विवाहित महिला अनिच्छुक गर्भ बसेपछि परिवार नियोजन कार्यालय पुगिन्। सन्तान जन्माउने इच्छा उनी र उनको श्रीमानको थिएन।

कुनै पनि अस्थायी वा स्थायी साधन उपयोग नगरेका दम्पतीले इमर्जेन्सी पिल्सलाई नै परिवार नियोजनको साधनको रुपमा प्रयोग गरे। असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्र खाने इमर्जेन्सी पिल्सको अत्याधिक प्रयोगले उनको स्वास्थ्यमा असर गरेको थियो।

उच्च रक्तपात र महिनावारी नहुने समस्याले उनी अस्पतालमा भर्ना हुनुपरेको थियो। यौन सम्पर्क भएपिच्छे उनले इमर्जेन्सी पिल्स खाँदा एकमहिनामा मात्र उनले ३० भन्दा बढी औषधी सेवन गरेको चिकित्सकलाई बताएकी थिइन्।

‘कहिले दिनमा दुईपटक भयो भने पनि दुईपटक खाने गरेको पनि भेटेको छु। पछि हामीले सोध्दै जाँदा ६/७ महिनासम्म महिनावारी नहुने। भयो भने एकदम नै रगत बग्ने समस्या भएको थाहा पायौँ। कालो रगत आउने। पेट दुखेर अस्पताल भर्ना गर्ने परिस्थितिमा पनि पुगेको रहेछ। एड्मिट भएर सञ्चो भएर फेरि आएको अर्बोसन नै गर्न आएको हुनुहुन्थ्यो,’ नर्स अनुषाले भनिन्।

अनिच्छुक गर्भलाई रोक्न परिवार नियोजनका विभिन्न साधन उपलब्ध छन्। महिलाको लागि मिश्रित चक्की, तीन महिने सुई, आईयूसीडी तथा स्थायीमा मिनि ल्याप। पुरुषको लागि कन्डम र स्थायीमा भ्यासेक्टोमी।

गर्भ निरोधक साधनमा पुरुषले उपयोग गर्ने साधन कम त छ नै उपलब्ध साधन पनि प्रयोग गर्न हिच्किचाउँछन् उनीहरु। परिवार नियोजनको साधन प्रयोग गर्नेमा महिला नै बढी छन्। यौन सन्तुष्टि नमिल्ने भ्रममा पुरुषले कन्डम प्रयोग गर्न मान्दैनन्। जसको भार महिलाले थेग्नुपर्छ।

बिना सुरक्षाको यौन सम्पर्कपछि महिला इमर्जेन्सी पिल्स खान बाध्य छन्। कहिलेकसो गर्भ रहन गएमा एबोर्सन वा ‘एबोर्सन’ चक्कीको पीडा सहन महिला नै बाध्य छन्। मेडिकलमा उपलब्ध इमर्जेन्सी र ‘एबोर्सन’ चक्कीको प्रयोग परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्छन् दम्पती।

‘इमर्जेन्सी पिल क्यान्डी बाँडे जस्तै छ। ठिकै छ सेक्ससुअली एक्टिभ भए रिलेसनमा आए उनीहरुको राइट्सको कुरा हो। तर, कन्डम प्रयोग गर्दिनँ इमर्जेन्सी पिल्स खाइदिए त हुन्छ भन्छ। गर्भ बस्यो भने चक्की हो मुखमा हालौँला भइहाल्छ भन्ने छ,’ उनले भनिन्।

महिलाले प्रयोग गर्ने परिवार नियोजनको साधनमा ‘हर्मोनल’ र ‘ननहर्मोनल’ गरि दुईवटा औषधि हुन्छन्। दैनिक खाने २८ दिने मिश्रित चक्की, तीन महिने सुई ‘हर्मोनल’मा पर्छ। ‘ननहर्मोनल’मा महिलाको लागि कन्डम पनि उपलब्ध हुन्छ। तर, त्यो झन्झटिलो भएको भन्दै त्यति उपयोग गरेको पाइदैन। महिलाको ‘हर्मोनल’ परिवार नियोजनका साधनले केही महिलाको महिनावारीमा गडबडी गर्ने गरेको बताउँछिन् नर्स अनुषा।

‘तीन महिने सुई लगाउँदा केहीमा महिनावारी बिग्रन सक्छ। सोझै हामीले काउन्सिलिङ गर्दा महिनावारी बिग्रन्छ भन्नुपर्छ। जस्तो कि त महिनावारी नै नहुने। जति समयसँग लगाएको छ त्यतिन्जेलसम्म महिनावारी बन्द हुने। यो हर्मोनको कारणले हो,’उनले भनिन्,‘कसैलाई फापेन भने चाहिँ महिनैभरि रगत जाने हुन्छ। लगातार देखिने, थोपा चुहिने। महिनामा दुईतीन पटक महिनावारी हुने। कसैलाई रोकिने हुन्छ।’

पाँच वर्षका लागि गरिने लामो समयको साधन प्रयोगमा कोही महिलाको महिनावारीमा गडबडी हुने, वजन बढ्ने समस्यासँग महिला जुझनुपर्छ। तीन महिने सुई नफापेको महिलालाई चिकित्सकले पाँचवर्षको लागि पाइने ‘इम्प्लान्ट’ नराख्न सुझाउँछन्।

अनिच्छुक गर्भ रोक्ने साधन महिलाहरुको बढी उपलब्ध भए पनि यसका कारण महिलाले शारिरीक तथा मानसिक पीडा सहनुपर्छ। महिलाको जोखामा पुरुषले प्रयोग गर्ने साधन सजिलो हुन्छ। अस्थायी साधनमा रहेको कन्डम प्रयोग गर्नपनि पुरुष भने मान्दैनन्।

‘मान्छेहरुलाई के छ भने कन्डम लगाएर यौन सन्तुष्टि पाइदैन भन्ने छ। होइन भन्दा हुँदैन। यति गर्‍यो भने अर्बोसन रोकिन्छ भनेर प्रयोग गर्नु न भन्दा कोही मान्छ कोही मान्दैन’, उनले भनिन्, ‘सधैँ सेल्फ स्याटिस्फयाक्सन मिल्दैन। उस्तै परे एक्टिभ नै हुँदैन। चाहाना नै हुँदैन भन्ने छन्।’

यद्यपि, परिवार नियोजनमा आउने दम्पतीलाई चिकित्सकले सल्लाह र सुझाव दिन्छन्। कोही चिकित्सकको सुझावलाई मान्छन् पनि। पुरुषका लागि उपलब्ध स्थायी साधन ‘भ्यासेक्टोमी’ गर्न महिलाको भन्दा सहज हुन्छ।

‘महिलालाई भन्दा पुरुषलाई साधन प्रयोग गर्नु भन्नुको कारण पुरुषको चिर्नुपर्दैन काट्नुपदैन। महिलाको चिरेर नै साधन राख्नुपर्छ। पुरुषको बन्ध्याकरण गर्दा सहज हुन्छ। १०, १५ मिनेटमा सकिन्छ। शरीरलाई असर गर्दैन,’ उनले भनिन्।

बन्ध्याकरणबारे समाजमा भ्रम फैलिएको छ। पुरुषले बन्ध्याकरण गरे ढाड दुख्ने समस्या आउने भ्रम रहेको बताउँछिन् अनुषा।

‘मिथ के छ भने नसा काट्ने हो। ढाडतिर असर गर्छ काम गर्न गाह्रो हुन्छ भन्ने छ। ढाड दुख्छ हामी सक्दैनौँ तैँले गर भनेर पुरुष पछि सर्छन्। तर पुरुषको गर्दा सानो घाउ हुन्छ हप्तादिनमा सञ्चो हुन्छ। तीनमहिनामा विर्य एक्टिभ छ कि छैन भनेर चेक चाहिँ गर्नुपर्छ,’ उनले भनिन्।

‘एबोर्सन’ बन्यो परिवार नियोजनको माध्यम

समाजमा रहेको यस्तै भ्रमका कारण पुरुषहरुले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेको बताउँछन् स्त्रीरोग प्रा डा राजेश कोइराला पनि। 

‘पुरुषले चाहिँ हिचकिचाउने कन्डम युज गर्नुपर्‍यो भने त्यसले यौन सन्तुष्टिमा अलिकति असर गर्छ कि भन्ने मिथले नै हो’, उनले भने, ‘भ्यासेक्टोमी गर्न खोज्दैन। शरीर गल्छ ढाड दुख्छ यौन सम्पर्कमा सन्तुष्टि हुँदैन भनेर गर्न खोज्दैन। तर यो कुरापनि मिथ नै हो।’

परिवार नियोजनको साधन प्रयोग गर्नेमा महिला बढी हुनुको अर्को फरक कारण पनि रहेको सुनाउँछन् उनी।

‘बच्चा कन्सिब भयो भने सबभन्दा गाह्रो महिलालाई हुन्छ। झुकिएर बच्चा बस्यो अप्ठ्यारो त महिलालाई नै छ नि औषधि खाएर फाल्न पर्‍यो अथवा सर्जिकल एबोर्सन गर्नपर्‍यो। असुरक्षित यौन सम्पर्क भयो ७२ घण्टाको औषधि खानपर्‍यो। अब, मलाई नै प्रबलम हुन्छ भने म किन युज नगर्ने भन्ने हुन्छ नि त,’ उनले भने।

तर, पुरुषले परिवार नियोजनको साधन अपनाउन अनकनाउँदा अनिच्छुक गर्भ रहने जोखिम बढेर जान्छ। अनिच्छुक गर्भ रहन गएमा गर्भपतन पनि सहजै रुपमा गर्न पाइन्छ। गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाएको बताउँछन् डा राजेश।

उनीसहित पाँच जना डाक्टरले सन् २०१८ मा सार्वजनिक गरेको जर्नल आर्टिकलमा सो कुरा प्रमाणित गर्ने आधारहरु पेस गरिएका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १९१ जना महिलासँग गरेको कुराकानीको आधारमा निकालिएको आर्टिकलमा महिलाले गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाएको पुष्टि हुन्छ।

१९१ जना महिलामध्ये ८६.९ प्रतिशत महिला एकपटक भन्दा बढी अनिच्छुक गर्भधारण गरिसकेका थिए। सबै महिलाको गर्भपतन गर्नुको मुख्य कारण परिवारले पूर्णता पाएको बताएका थिए। ५७.६ प्रतिशत महिलाले मेडिकल माध्यबाट त्योभन्दा अगाडि गर्भपतन गराएका थिए। जसमध्ये ५२.४ प्रतिशत महिलाले कुनै पनि परिवार नियोजनको साधन प्रयोग गरेका थिएनन्।

‘नेपालमा गर्भपतन सेवा निःशुल्क छ। धेरैजसो महिलाहरूले गर्भपतनपछि परिवार नियोजनको प्रयोग गरेनन् जुन बारम्बार गर्भपतनलाई संकेत गर्दछ। गर्भपतन अघि र पछिको राम्रो सल्लाहले गर्भपतन पछि परिवार नियोजनको स्वीकृति दर बढाउन मद्दत गर्न सक्छ,’ जर्नलको निष्कर्षमा लेखिएको छ।

जर्नल रिसर्चलाई नै आधार बनाएर महिलाले गर्भपतनलाई एकप्रकारको साधन बनाएको सुनाउँछन् डा राजेश।

‘यसले के बुझाउँछ भने यसलाई नै महिलाले परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्ने भए। आज एबोर्सन गरायो फेरि दुई/तीन महिनापछि एबोर्सन गरायो। उनीहरुको त के गरायो भन्दा एबोर्सन मेथडको रुपमा प्रयोग गर्ने,’ उनले भने।

परिवार नियोजन गर्नेमा महिला बढी

परिवार नियोजन संघ कास्कीले दिएको तथ्यांक अनुसार परिवार नियोजन साधन प्रयोग गर्नेको संख्या न्युन छ। त्यसमा पनि पुरुषको संख्या सीमित छ। नेपाल सरकारले परिवार नियोजनको लागि अस्थायी र स्थायी गरि कार्यक्रम गरिरहेको छ। अस्थायी परिवार नियोजनको साधनमा महिलाको लागि आयुसिडी, इम्प्लान्ट, तीन महिने सुई छ।

२०२० मा परिवार नियोजन कास्की कार्यालयबाट १०६ जना महिलाले ‘आइयूसीडी’को प्रयोग गरेको थिए। जसमा ८ जनाले नचाहेको गर्भ बसेपछि मात्र प्रयोग गर्न थालेका थिए।

‘इम्प्लान्ट’ गर्ने महिला जम्मा २३६ थिए। जसमा ४३ जनाले गर्भ बसेपछि मात्र प्रयोग गर्न थालेको थिए। सोही वर्षको तथ्यांकमा ९९६ महिला तीन महिने सुईको नचाहेको गर्भ रहनु अघि नै प्रयोग गर्दा १७४ जनाले गर्भ बसेपछि मात्र प्रयोग गर्न थालेका थिए। यता १४४ जना पुरुषले मात्र अस्थायी साधन प्रयोग गरेको तथ्यांकले देखाउँछ। यस्तै, जम्मा ९०३ जना महिलाले गर्भनिरोधक चक्की प्रयोग गरेका थिए।

सन् २०२१ मा ‘आइयूसीडी’ प्रयोग गर्ने महिलाको संख्या बढेर १२३ पुग्यो। ‘इम्प्लान्ट’ प्रयोग गर्ने महिलाको संख्या २६९ पुग्यो। १ हजार २३४ जना महिलाले परिवार नियोजनबाट सो वर्ष तीन महिने सुईको सुविधा लिए। अस्थायी साधन जस्तै कन्डम प्रयोग गर्ने पुरुषको संख्या पनि बढेर ३२५ पुग्यो। गर्भनिरोधक चक्की प्रयोग गर्ने महिला १ हजार १२१ पुगे। यो वर्षमा ६५ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका थिए।

यता २०२२ को तथ्यांक हेर्दा १७८ जना महिलाले ‘आइयूसीडी’को प्रयोग गरेका छन्। २९७ जना महिलाले ‘इम्प्लान्ट’ गरेका छन् भने ७९५ जना महिलाले तीन महिने सुईको प्रयोग गरेका छन्। यस्तै, ७७८ जना महिलाले गर्भनिरोधक चक्की प्रयोग गरेका छन्। यो वर्ष स्थायी बन्ध्याकरण गराउने पुरुषको संख्या बढेर ७४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell