PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा



पहिलोपोस्ट

उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा

काठमाडौं : नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन्।

अर्यालले आइतवार मनोनयद दर्ता गराएकी थिइन्। अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा रहेका छन्।

राष्ट्रियसभाको उपाध्यक्षका अरु कसैले पनि उम्मेदवारी नदिएपछि आज उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

को हुन् अर्याल ?

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी अर्यालले स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छिन्। वि सं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा उनी पर्सामा जन्मिएकी हुन्। तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी हुन्।

समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारीधीको शोधार्थीसमेत हुन्। अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेका थिइन्। सेभ द चिल्ड्रेनलगायतका संस्थामा समेत उनले काम गरेकी छिन्।

अर्यालले उपाध्यक्षको रुपमा तटस्थ र निष्पक्ष भएर संविधान, कानूनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताएकी छिन्। उनले राष्ट्रियसभालाई प्रभावकारी र जनपक्षीय बनाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने उल्लेख गरिन्।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १-१ सांसद छन्। राष्ट्रियसभामा एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell