काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइसतर्फ ५ जना खेलाडी मनोनित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चले भोटिङका लागि ई-सेवासँग प्रायोजन सम्झौता गरेको छ।
१९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही २०७९ साल फागुन २३ गते हुँदैछ। यो संस्करणमा रहेका विधाहरुमा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्।
यसपटक पिपल्स च्वाइस विधातर्फ क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी रहेका छन्।
पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ। जसमा ई–सेवाबाट मतको भार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षक खेल पत्रकारकोको मतभार समान १२ दशमलब ५ प्रतिशत रहेको छ।
अवार्डमा पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस गरि ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। विगतमा चार पल्सर मोटरसाइकल प्रदान गरिएकोमा यस वर्ष युवा विधाका विजेतालाई पनि मोटरसाइकल प्रदान गर्ने आयोजकको तयारी छ। त्यसबाहेक अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
को को हुन पिपल्स च्वाइस अवार्डमा पर्ने खेलाडी?
डुवाना लामा: पौडी खेलाडी लामाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ स्वर्ण, १ रजत पदक हात पारेकी थिइन्। त्यसअघि सन् २०१९ मा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा २ रजत र ३ कांस्य पदक हात पारेकी थिइन्।
२०६४ सालदेखि निरन्तर पौडीमा सक्रिय सहभागिता जनाएकी उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ स्वर्ण र ५ रजत पदक हात पारेकी थिइन्।
अञ्जन विष्ट: भारतको मुम्बइ केन्क्रेबाट आईलिग खेलिरहेका फुटबलर विष्टले यहीवर्ष बंगलादेशविरुद्धको मैत्रीपुर्ण ह्याट्रिक गर्दै सानदार प्रदर्शन गरेका थिए। राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने छैटौं नेपाली खेलाडी हुन्। उनले राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल भएका छन्। सर्वाधिक गोलकर्ताको दौडमा उनी तेस्रो स्थानमा छन्। उनीभन्दा अगाडि निराजन रायमाझी र हरि खड्कामात्र छन्।
त्यस्तै पाकिस्तानसँगको मैत्रिपूर्ण खेलमा उनले गोल गर्दा १४ वर्षपछि पाकिस्तानलाई नेपालले हराउन सफल भएको थियो। त्यसअघि विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’ मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए।
१३ औँ साफ च्याम्पिन्सीसपमा पनि उनले श्रीलङ्का र बंगलादेशविरुद्ध गोल गरेका थिए।
अभिलाषा विष्ट: विष्ट नेपालकी नम्बर एक महिला टेनिस खेलाडी हुन्। आईटीएफअन्तर्गतका प्रतियोगितामा व्यावसायिक टेनिस खेलिरहेकी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी हुन्। नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै चारै स्वर्ण पदकमा क्लिनस्विप गर्दै कीर्तिमान बनाएकी थिइन्। जसक्रममा महिला टिम इभेन्ट, महिला एकल, महिला डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितिन् उनले।
त्यसबाहेक वीर गणेशमान सिंह राष्ट्रिय ओपन टेनिसअन्तर्गत महिला एकलमा स्वर्ण, १९औं माछापुच्छ्रे बैंक राष्ट्रिय ओपन टेनिसको महिला एकलमा पनि स्वर्ण पदक जितेकी थिइन्।
उनले पाकिस्तानमा भएको आईटीएफ वर्ल्ड र्याङकिङ प्रतियोगितामा महिला एकलमा रजत र महिला डबल्समा स्वर्ण जित्न सफल भएकी थिइन्।
उषा भण्डारी (भलिबल): नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य भण्डारी सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा सदस्य थिइन्। उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। उनले बंगलादेशविरुद्ध खेलेर डेब्यु गरेकी थिइन्।
उनी नेपालले २०२१ को डिसेम्बरमा दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य थिइन्। घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने उनले यही वर्ष सम्पन्न एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा टोलीलाई च्याम्पियन बनाउन सफल भइन् भने महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भइन्।
उनले माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतियोगितासमेत खेलेकी छिन्।
आसिफ शेख: ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमै अविजित अर्धशतक प्रहार गरेका आशिफले नेदरल्यान्ड्सविरुद्ध ओपनर कुशल भुर्तेलसँग ११६ रनको साझेदारी गर्दै सानदार प्रदर्शन गरे। उनी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तेस्रो उच्च रनकर्ता (२३ खेलमा ५ अर्धशतक, ६५५ रन ) हुन्। त्यस्तै ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको पाँचौं उच्च रनकर्ता (२० खेलमा २ अर्धशतकसहित ४६८ रन ) हुन्।
यहीवर्ष उनले केन्याविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक (११० रन, २०२२ सेप्टेम्बर) प्रहार गरेका थिए। शेख आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्ष १०० स्थानभित्र पर्न सफल खेलाडी हुन्।
यसअघि कसकसले जितेका छन् पिपल्स च्वाइस अवार्ड?
२०६५– मञ्जु गुरुङ (भलिबल)
२०६६– सन्तोष साहुखल (फुटबल)
२०६७– सिपोरा गुरुङ (भलिबल)
२०६८– रमिला तण्डुकार (भलिबल)
२०६९– झरना गुरुङ (उसु)
२०७०– सरस्वती चौधरी (भलिबल)
२०७२– नविता श्रेष्ठ (टेबलटेनिस)
२०७३– कान्छीमाया कोजु (एथलेटिक्स)
२०७४– स्यान्टु श्रेष्ठ (टेबलटेनिस)
२०७५– रेश्मा भण्डारी (भलिबल)
२०७६– अरुणा शाही (भलिबल)
२०७७– एलिना महर्जन (टेबलटेनिस)