PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

राष्ट्रपति नेपाली कांग्रेसले जित्ने शेखर कोइरालाको दाबी, 'रविले प्रेस स्वतन्त्रतामाथि धावा बोले'



पहिलोपोस्ट

राष्ट्रपति नेपाली कांग्रेसले जित्ने शेखर कोइरालाको दाबी, 'रविले प्रेस स्वतन्त्रतामाथि धावा बोले'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसका उम्मेदवारले जित निकाल्ने बताएका छन्। सोमवार चितवनमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

राष्ट्रपति निर्वाचन नेपाली कांग्रेसका लागि मात्र नभएर देशकै लागि महत्वको विषय भएको उल्लेख गर्दै कोइरालाले सबैको सहयोगमा जित निकाल्ने दाबी गरेका हुन्।

'हामी राष्ट्रपतिको निर्वाचको संघारमा छौं। यो निर्वाचन नेपाली कांग्रेसको लागि, देशका लागि महत्वपूर्ण छ। यसलाई हामीले गम्भीर रुपमा लिएका छौं,' उनले भने, '१३ फागुनमा नोमिनेसन छ। राष्ट्रपति नेपाली कांग्रेसले जित्छ, मलाई विश्वास छ।'

देशले राम्रो अभिभावक खोजिरहेको उल्लेख गर्दै शेखरले यसको भूमिका कांग्रेसले मात्र निभाउन सक्ने बताए।

कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको अभिव्यक्तिमाथिसमेत टिप्पणी गरे। कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा उभिएको शक्ति भएको उल्लेख गर्दै उनले लामिछानेले यसविरुद्ध धावा बोलेको तर्क गरे।

'रवि लामिछानेले आफै सञ्चार कर्मी भएर प्रेस स्वतन्त्रमाथि धावा बोल्नुभयो। कांग्रेस प्रेस स्वतन्त्रको पक्षधर हो,' कोइरालाले भने। त्यसैगरी कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयको धज्जी उडाएकोसमेत आरोप लगाए। आइतवारको संसदमा ओलीले रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell