काठमाडौं : १० दिनयता नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका मोन्टी देसाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारिक रुपमा प्रशिक्षक घोषणा गरेको छ। क्यानले नवीकरण गर्ने गरि भारतीय प्रशिक्षक देसाईसँग दुई वर्षको लागि करार गरेको जनाएको छ।
१० दिन अघि नै प्रशिक्षक सम्हाले पनि आधिकारिक घोषणा गरिएको थिएन। जसकारण क्यानको आलोचना भइरहेको थियो।
प्रशिक्षक भित्र्याउन साथ घोषणा गर्न नसक्नुमा भने दोष आफ्नो नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। उनले घुमाउरो पारामा राष्ट्रिय खेलकुद परिषदलाई व्यङ्गय गर्दै बचाउ गरेका छन्। उनी नेपाल आएर प्रशिक्षण दिइरहे पनि नियुक्तिको प्रक्रिया राखेपबाट नटुंगिँदा क्यानले यसको आधिकारिक घोषणा गर्न सकेको थिएन।
आज आधिकारिक रुपमा नियुक्त भएसँगै देसाईले भने नेपाली टिमलाई लिएर आफ्नो उद्देश्यहरु रहेको बताए।
'म यहाँ केही उद्देश्यहरुका साथ आएको छु,' देसाइले भने। उनले सन् २०१२ देखि नेपाली क्रिकेटलाई हेरिरहेको बताउँदै तत्काल नेपालको लिग २ का खेलहरुमा राम्रो गर्ने लक्ष्य रहेको बताए।
देसाईसँग यसअघि अफगानिस्तान, क्यानडा, यूएई, वेस्ट इण्डिज तथा इण्डियन प्रिमियर लिग लगायतमा विभिन्न भूमिकामा काम गरेको अनुभव छ।
रोकिएला प्रशिक्षकको अस्थिरता?
आजको कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले 'प्रशिक्षकहरुले नेपाललाई ट्रान्जिट बनाउने प्रवृति' बाट अब मुक्त हुने विश्वास व्यक्त गरेका छन्। देसाईसँग दुई वर्षको करार गरेको र त्यसमा २४० दिन उनी नेपाली टोलीसँग रहनु पर्ने 'क्लज' रहेको उनले बताए।
देशाइले पनि आफू लामो समय बस्ने सोचेर नेपाल आएको बताए।
'यहाँ बेलगाम सम्भावना छ जुन मैले पहिले नै महसुस गर्न सक्छु। म नेपाली क्रिकेटको विरासतमा अर्को अध्याय लेख्न मद्दत गर्न तयार छु,' उनले भनेका छन्, 'नेपाली क्रिकेटको भविष्य निर्माण गर्न सकिने दीर्घकालीन र दिगो रणनीति बनाउन एकजुट भएर अगाडि बढ्ने बेला यही हो। अब आउने पुस्ताले भन्ने कथा हामी सँगै लेख्न सक्छौं।'
नेपाली राष्ट्रिय टोलीको पछिल्लो ‘ट्रेन्ड’ हेर्दा प्रशिक्षक टिक्नै मुस्किल परेको देखिन्छन्। २०७६ साल जेठ महिनामा राष्ट्रिय टोलीको प्रशिक्षक बनेर आएका उमेश पटवाल ८ महिना नबित्दै फर्किएका थिए। नेपालको 'क्रिकेट कल्चर' लाई नै परिवर्तन गर्ने बताएका पटवाल फर्कनुका पछाडि क्यानसँगको करको विवादलाई लिइएको छ। यद्यपि, उनले व्यक्तिगत कारण देखाउँदै बिदा लिए।
उनीपछि २०७७ सालको पुस महिनामा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेर आएका थिए डेभ ह्वाटमोर।
तर, ह्वाटमोर पनि लामो समय टिक्न सकेनन्। २०७८ सालको भदौ महिनामा उनले पनि राजीनामा दिए। उनको कार्यकाल पनि ८ महिनाभन्दा लामो हुन सकेन। उनले नेपालको राष्ट्रिय टोली छाडेर भारतको रणजी टोली सम्हाल्ने निर्णय गरे।
उनीपछि नेपाली टोलीको नेतृत्व सम्हाले पहिलो कार्यकालमा सफल प्रशिक्षकको पगरी पाएका पुबुदु दासानायकेले। क्यान खेलाडी विवाद, खेलाडीबिचकै गुटबन्दी र कप्तान परिवर्तनको संक्रमणकालीन अवस्थामा आएका दासानायकेको दोस्रो कार्यकाल सफल देखिएन।
उनले पारिवारिक कारण देखाएर राजीनामा दिए। तर, क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न उनले नेपाली टोली छाडेका थिए। २०७८ सालको मंसिरमा उनको कार्यकाल सुरु भएको थियो। २०७९ सालको साउन महिनामामै उनले राजीनामा दिएका थिए। अर्थात उनको कार्यकाल पनि ८ महिनाभन्दा लामो कार्यकाल हुन सकेन।
पुबुदपछि विवादित तर हाइप्रोफाइल प्रशिक्षकका रुपमा आएका थिए अघिल्ला प्रशिक्षक प्रभाकर। खेलाडीसँगको आन्तरिक किचलोसँगै नतिजा सोचेअनुरुप उनले दिलाउन सकेनन्। साउन महिनामा आएका प्रभाकर ४ महिना नबित्दै नेपाली टोलीबाट बिदा लिएका थिए।