टर्कीएमा फेरि शक्तिशाली भूकम्प गएको छ। केही समय अघि ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो। आज बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसकारण टर्कीए र सिरियामा गरि १ हजार २०० भन्दा धेरैको मृत्यु भइसकेको छ। १२ घण्टाभन्दा कम समयमा फेरि अर्को ठूलो भूकम्प गएको हो।
भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ। सिरियाको एलोपो, लताकिया, हमा र टउरसमा धेरै क्षति भएको छ। टर्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० शहर प्रभावित भएको बताएका छन्।
भूकम्पका कारण दुवै देशमा कयौं भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेका छन्। दुवै देशमा गरि हजारौं मानिस घाइते भका छन्। लेबनान र साइप्रसमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
हाल भूकम्पपछि राहत र उद्धारको कार्य भइरहेको छ। टर्कीएमामात्रै ९ हजारभन्दा बढी व्यक्ति उद्धारकार्यमा खटिएका छन्।