PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

भारतीय धर्मगुरु मोरारी बापू लुम्बिनीमा



पहिलोपोस्ट

भारतीय धर्मगुरु मोरारी बापू लुम्बिनीमा

बुटवलः लुम्बिनीमा मंगलबारदेखि सुरु हुने ‘रामकथा प्रवचन’ कार्यक्रमका लागि भारतका आध्यात्मिक गुरु मोरारी बापू सोमबार रुपन्देही आइपुगेका छन्।

‘चार्टर फ्लाइट’मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उनी अवतरण गरेका हुन्।

उनलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, वसिउद्दीन खान, सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवाललगायतले स्वागत गरेका थिए।

बापूको लुम्बिनी आगमन सर्वत्र चासोको विषय बनेको छ। यहाँका उद्योगी, व्यवसायी, धार्मिक संघसंस्थालगायतका विभिन्न तहका व्यक्तिहरु उनको आगमनले लुम्बिनी क्षेत्रको पर्यटन बढ्ने र धार्मिक एकता, नेपाल भारतका जनताबीचको भावनात्मक नाता अझ बलियो हुने विश्वासमा छन्।

रामकथा प्रेम यज्ञ समितिको आयोजनामा मंगलबारदेखि ९ दिनसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा ‘श्री रामकथा प्रवचन’ हुनेछ। मोरारी बापूले सोमबार नै बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिएका थिए।

प्रवचनमा सहभागी हुने धार्मिक पर्यटकले लुम्बिनीका होटल पहिलेदेखि नै बुक भइसकेका छन्। करिब १ सय ७० देशबाट मोरारी बापूका हजारौँ अनुयायी लुम्बिनी आउँदै छन्। यसले यस क्षेत्रको होटल व्यवसायसँगै स्थानीय व्यापार पनि फस्टाउने लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीको भनाइ छ।

आध्यात्मिक गुरु मोरारी बापूको लुम्बिनीमा ९१२औं राम कथा आयोजना हुन लागेको हो। ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थल एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन्।

नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो। यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो। यसैगरी काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ। लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा बिरुवा लगाउने कार्यक्रम भएको संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए।

यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो।

यसैबीच, बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा उक्त कार्यक्रम सञ्चालन गर्दा बौद्ध धर्मावलम्बीको आस्था विपरीत हुने दाबी गर्दै संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले सोमबार दिउँसो लुम्बिनी नजिकै पर्सा चोकमा विरोध प्रदर्शन गर्दै कोणसभा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell