PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुरानो भयो वाग्मती प्रदेशका मुख्यमन्त्रीको निवास, जम्कट्टेलको गुनासोपछि नयाँ बन्दै



पहिलोपोस्ट

पुरानो भयो वाग्मती प्रदेशका मुख्यमन्त्रीको निवास, जम्कट्टेलको गुनासोपछि नयाँ बन्दै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्रीको निवास भत्काएर नयाँ बनाइने भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल बस्दै आएको वन कार्यालयको भवन भत्काएर सोही स्थानमा मुख्यमन्त्रीका लागि नयाँ क्वाटर बनाइने भएको हो।

सरकारको खर्च कटौती गर्न १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएका मुख्यमन्त्री आफैँले प्रयोग गरिरहेका सुविधासम्पन्न क्वाटर भत्काएर नयाँ बनाउने तयारी गरेका हुन्। वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार हालको भवन पुरानो भएको भन्दै जम्कट्टेलले गुनासो गरेपछि भवन भत्काएर नयाँ बनाउने तयारी गरिएको हो।

भवन भत्काएर नयाँ क्वाटर बनाउने विषयमा मुख्यमन्त्री जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलासँग छलफलसमेत गरिसकेका छन्।

‘अहिले बसिरहेको भवन पुरानो भयो भनेर मुख्यमन्त्रीले त्यो भवन भत्काएर क्वाटरको लागि नयाँ भवन द्रुत गतिमा बनाउने भनेर छलफल गर्नु भएको छ’, एक कर्मचारीले भने।

जम्कट्टेल हाल वन कार्यालयको हेटौंडा-२ स्थित भवनमा बसिरहेका छन्। उक्त भवनमा यसअघि पूर्व मुख्यमन्त्रीहरू डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे पनि बसेका थिए।

प्रदेश सरकारको खर्च कटौती गर्ने भन्दै ३ वटा मन्त्रालयको संख्या घटाएको दुई साता नपुग्दै जम्कट्टेलले आफ्नो क्वार्टरको लागि नयाँ भवन बनाउने तयारी गरेका हुन्।

प्रदेश सरकारको खर्च कटौती गर्ने भन्दै उनले समिति नै गठन गरेर अध्ययन गरिरहेका छन्। सरकारको चालू खर्च कटौती गर्नुपर्ने पक्षमा उभिएका उनी आफ्नो लागि भने फाष्ट ट्रयाकबाट नयाँ क्वार्टर बनाउने तयारीमा जुटेका छन्।

प्रदेश सरकार प्रमुख सचिव निरौलाका अनुसार हाल बसिरहेको भवन भत्काएर नयाँ नबन्दासम्म मुख्यमन्त्री जम्कट्टेल वन कार्यालयको नयाँ भवनमा बस्नेछन्। मुख्यमन्त्री आवास निर्माणको लागि बजेट भने अहिले विनियोजन गरिनसकेको निरौलाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell