टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हालसम्म दुवै देशमा गरि ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। मृतकको संख्या धेरै गुणा बढ्न सक्ने अनुमान गरिएको छ।
सोमवार बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। दिउँसो फेरि ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। दुवै भूकम्प निकै शक्तिशाली रहेको र त्यसबाट ठूलो जनधनको क्षति भएको छ।
सिरियाको एलोपो, लताकिया, हमा र टउरसमा भूकम्पका कारण धेरै क्षति भएको छ। टर्कीएको गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस शहर सबैभन्दा धेरै प्रभावित भएको बताएका छन्।
भूकम्पका कारण दुवै देशमा कयौं भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेका छन्। दुवै देशमा गरि १५ हजार भन्दा धेरै मानिस घाइते भएका छन्। अहिले उद्धार र राहत कार्य जारी रहेको छ। अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत र उद्धारका लागि सहयोग पठाइरहेको छ। दक्षिण कोरिया, भारत, जापान लगायतका देशले 'रेस्क्यू टिम' पठाउने निर्णय गरिसकेको छ। टर्कीए र सिरियाले पनि हजारौंको संख्यामा उद्धारकर्मी खटाएको छ।
यस्तै, इराक र इरानबाट राहत सामाग्री लिएर विमान सिरिया पुगेको छ। अष्ट्रेलियाले पनि राहत कार्यमा खटिएको संस्थालाई १० मिलियन अमेरिकी डलर दिने घोषणा गरेको छ। ग्रिसबाट उद्धार टोली भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गरिसकेको छ। अमेरिका, क्यानडा लगायतका देशले पनि सहयोग घोषणा गरेको छ।
युद्धबाट प्रभावित सिरियामा भूकम्पले सबैभन्दा धेरै असर गरेको छ। युद्धग्रस्त एलोपोमा भूकम्पले ठूलो असर गरेको हो। सरकार त्यहाँका विद्रोहीसँग युद्ध लिडिरहेको बेला यो प्राकृति प्रकोपले त्यहाँ थप पीडा पुर्याएको छ। यो क्षेत्रबाट लाखौं मानिस शरणार्थी बनेर पलायन भएका थिए। अहिले सयौं घर भत्किँदा शरणार्थीहरु थप पीडामा रहेका छन्।