PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सोल्टी होटलमा कानुनविपरित ‘दुबई प्रोपर्टी शो’ गर्दा समातिएका पाँच भारतीय छुटे, आखिर किन चलेन मुद्दा?



पहिलोपोस्ट

सोल्टी होटलमा कानुनविपरित ‘दुबई प्रोपर्टी शो’ गर्दा समातिएका पाँच भारतीय छुटे, आखिर किन चलेन मुद्दा?

काठमाडौं : सोल्टी होटेलमा कानुनविपरित दुबई प्रोपर्टी शो गर्दा पक्राउ परेका पाँच भारतीय रिहा भएका छन्। नेपाल राष्ट्र बैंकको चेतावनीविपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानुनी रूपमा दुबई प्रोपर्टी शो आयोजना गरेको थियो।

माघ ८ गते जिल्ला प्रहरी परिसरको टोलीले पाँच भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो। करिब दुई साता हिरासतमा राखेपछि उनीहरु छुटेका हुन्। प्रहरीले भारतीय नागरिक गुरुचरण सिंह मेहता, अनुभव वर्मा, हर्ष शर्मा, अफताव हमज, काजल रवि अग्रवाललाई पक्राउ गरेको थियो।

‘उनीहरु तीन दिन अगाडि रिहा भएका हुन्। कुनै मुद्दा चलेको छैन,’ महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी अनिल घिमिरेले भने।

पक्राउ परेका गुरुचरण सिंह द म्याक कम्पनीका एक्जुकेटिभ बिजनेश डिभलपमेन्ट भएको खुलेको थियो। काजल रवि कम्पनीकी रिलेसनसीप म्यानेजर हुन्। महानगरीय प्रहरी वृत कालिमाटीबाट डीएसपी अनिल घिमिरेको नेतृत्वमा टोली होटेल पुगेर कार्यक्रम बन्द गराएर राहदानी नियन्त्रणमा लिएको थियो।

नेपालमा बसोबास गर्ने कुनै पनि नेपाली नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ। पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचारप्रसार समेत गर्न नपाइने कानुनी व्यवस्था छ। यसविपरीत दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन।

त्यही भएर राष्ट्र बैंकले दुबई प्रोपर्टी शो नगर्न सूचना नै जारी गरेको थियो। लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ खोल्ने भन्दै उक्त कम्पनीले आक्रामक रूपमा तयारी गरिरहेको थियो।

उक्त कम्पनीले घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जनाएको छ। प्रोपर्टी बुकिङ मात्रै गरे दुई जनालाई ३ रात ४ दिन दुबई लैजाने उल्लेख गरेको छ।

तर, मुद्दा लगाउन पर्ने सम्बन्धित निकायहरुले चासो नदेखाउँदा र प्रहरीलाई कारबाही गर्न कानुन आकर्षित नहँदा उनीहरु रिहा भएको प्रहरीको दाबी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell