काठमाडौं : साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दैछन्। बंगलादेशको ढाकामा हुने खेलमा यी दुई टोलि दिउँसो पौने ३ बजे आमनेसामने हुनेछन्।
जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३-१ गोलको पराजय ब्यहोरेको थियो। दोस्रो खेलमा भने भुटानलाई ४-० गोलले हराउँदै नेपाली टोलीले पुनरागमन गरेको थियो।
फाइनलमा स्थान बनाउन आज नेपाललाई जित्नुपर्ने दबाब हुनेछ।
अर्कोतर्फ पहिलो खेलमा भुटानलाई १२-० गोलले हराउँदै प्रतियोगिताको सानदार सुरुवात गरेको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
भारतीय टोलीकी प्रशिक्षक मायमल रकीले जितसँगै मैदानबाट बाहिरिनेमा आफूहरु केन्द्रीत रहेको बताइन्। उनले नेपाललाई आफूहरुले हल्का रुपमा नलिएको भन्दै भारतीय खेलाडीहरुले मैदानमा कडा मेहेनत गर्ने बताइन्।
'हामीले नेपाललाई हल्का रुपमा लिएका छैनौँ। उनीहरु राम्रो टिम हुन्। हामीले उनीहरुको बंगलादेश र भुटानसँगको दुबै खेल हेरेका छौँ। हामीलाई सहज हुने छैन, हामी हाम्रो पुरा क्षमता लिएर खेल्नेछौँ,' उनले भनिन्, 'मैले मेरा खेलाडीहरुलाई कडा मेहेनत गर्न र आक्रमण पंक्तिमा केन्द्रीत हुन भनेकी छ। मलाई विश्वास छ, हामी खेल जित्नेछौँ।'
त्यस्तै, नेपाली टोलीका प्रशिक्षक याम गुरुङले भारतविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गर्ने बताए। भारत बलियो टिम र उपाधी दाबेदार भए पनि आफूले राम्रो तयारी गरेको उनको दाबी छ।
'हामीलाई थाह छ भारत शक्तिशाली टिम छ। तर, हामीले पनि राम्रो तयारी गरेर आएका छौँ। भारतसँधै उपाधि दाबेदार रहँदै आएको छ। अझ भर्खरैमात्र यू १७ विश्वकप खेलेको छ। उनीहरु विरुद्ध आफ्नो उत्कृष्ट प्रदर्शन दिन हामी तयार छौँ,' उनले भने।