काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमात्र लोकतान्त्रिक पार्टी भएको दाबी गरेका छन्। आइतवारको संसदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी हुनै नसक्ने ठोकुवा गरेका थिए।
मंगलवार चितवनको सौराहामा नेपाल प्रेस युनियनको वाग्मती प्रदेशको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्दै नेता कोइरालाले भने, 'पूर्वप्रधानमन्त्रीजीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टी नै हैन भन्नुभयो। तर कांग्रेसमात्र लोकतान्त्रिक पार्टी हो।'
ओलीले न्यायालयको निर्णयलाई चित्त नबुझाएको उल्लेख गर्दै उनले कांग्रेस स्वतन्त्र न्यायालय र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। 'न्यायापालिकाले जुन निर्णय गर्यो त्यो पनि चित्त नबुझेको कुरा उहाँले भनिरहनुभएको छ,' कोइरालाले भने, 'तर स्वतन्त्र न्यायापालिका र प्रेस स्वतन्त्रता दुबै नेपाली कांग्रेसका लागि महत्वपूर्ण छन्।'
उनले अहिले देशको अवस्था अत्यन्तै नाजुक रहेको जनाउँदै कांग्रेस यसलाई चिर्न लागिपरेकोसमेत बताए। 'देशको स्थिति अत्यन्तै नाजुक छ भन्ने कुरा चितवनमा गोलभेडा सडकमा फालियो। अर्कोतिर प्रेम आचार्यले आत्मदाह गर्नुभयो। हामीले यसलाई अत्यन्तै गम्भीर रुपले लिएका छौ,' कोइरालाले भने, 'आर्थिक अवस्था नाजुक छ। राजनीतिक अवस्था भन्नै परेन। दुईचार दिनमै के भइसक्यो। यो अवस्थालाई कसरी चिर्ने भन्ने विषयमा हामी चिन्तित छौ।'
राष्ट्रपतिको निर्वाचनमा कांग्रेस जित्ने गरी अघि बढ्नेसमेत कोइरालाको भनाई थियो। '२५ फागुनमा के हुन्छ? तपाईहरुको मनमा होला। हामीले उम्मेदवारी दिन्छ। हामीले जित्छ भन्नेमा मलाई विश्वास छ। यसका लागि अन्य दलसँग सहयोग लिनुपर्छ,' उनले भने।
कांग्रेस ठुलो दल भएकोले प्रतिपक्षमा बसे पनि सरकारमा नजाने कोइरालाले बताए। 'नेपाली कांग्रेसले भाँजो हाल्न खोज्यो भन्ने कुरा आएको छ। हामी ठुलो दल हो। तर हामी सरकारमा जाँदैनौ। तर हामी गभर्मेन्ट इन वेटिङ पनि हो। यो कुरा उनीहरुले बुझ्नुपर्छ। हामी विपक्षीमा बस्छौ सरकारमा जाँदैनौ यो कुरा पनि सत्य हो। अब हुने राष्ट्रपतिको निर्वाचनमा अन्य दलसँग मिलेर हाम्रो दलको उम्मेदवारलाई जिताउँछौं,' कोइरालाले भने।