PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टर्कीएमा 'गोरखा भूकम्प'को झल्को, ४८ घण्टामा २४३ परकम्प : मृतकको संख्या ५ हजार नजिक



पहिलोपोस्ट

टर्कीएमा 'गोरखा भूकम्प'को झल्को, ४८ घण्टामा २४३ परकम्प : मृतकको संख्या ५ हजार नजिक
फोटो कोलाज : REUTERS/IHA/NRA

काठमाडौं : टर्कीए र सिरिया अहिले भूकम्पका कारण शोकमा छ। सोमवार बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहरमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही बेरमा फेरि ७.५ म्याग्निच्युडको अर्को परकम्प गयो। लगत्तै दिउँसो ३ बजे ६ म्याग्नेच्युडको भूकम्प गयो।

जसका कारण अहिले ५ हजार नजिक मानिसहरुको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। अहिलेसम्म २० हजार बढी मानिसहरु घाइते भएको रोयटर्सले जनायो। टर्कीएमामात्र ३ हजार ४ सय मानिसहरुको शव भेटिसकेको छ। भूकम्पका कारण ठूलो धनजनको क्षति भएसँगै टर्कीए सरकारले ७ दिने राष्ट्रिय शोक घोषणा गरिसकेको छ। टर्कीएले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिसकेको छ।

दक्षिण कोरिया, भारत, जापान लगायतका देशले 'रेस्क्यू टिम' पठाउने निर्णय गरिसकेको छ।  यस्तै, इराक र इरानबाट राहत सामाग्री लिएर विमान सिरिया पुगेको छ। अष्ट्रेलियाले पनि राहत कार्यमा खटिएको संस्थालाई १० मिलियन अमेरिकी डलर दिने घोषणा गरेको छ। ग्रिसबाट उद्धार टोली भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गरिसकेको छ। अमेरिका, क्यानडा लगायतका देशले पनि सहयोग घोषणा गरेको छ।

४० घण्टामा २४३ परकम्प

टर्कीए र सिरियामा २०७२ सालको नेपालको गोरखा भूकम्पको झल्को दिने गरि कयौं पराकम्पका धक्काहरु गइरहेका छन्। पछिल्लो ४० घण्टामामात्र २४३ 'आफ्टरसक'को धक्का गएको उल्लेख गरिएको छ। ठूलो भूकम्पपछि पटकपटक परकम्पहरु गइरहन्छन्। जसका कारण उद्धार कार्यहरुसमेत प्रभावित हुन्छ।

यो भूकम्पका कारण टर्कीए र सिरियामा गरि ७ हजार भवनहरु धरासयी बनेको बताइएको छ।

गोरखा भूकम्पमा कति परकम्प?

नेपालमा २०७२ वैशाख १२ गते पछिल्लोपटक ठुलो भूकम्प गएको थियो। दिनको ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्प गएको ठीक चॉँतिस मिनेट पछाडि मध्यान्ह १२:३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको कडा परकम्प गएको थियो।

भूकम्पका परकम्पनहरू मिनेट मिनेटमा गएका थिए। पुनश्चः वैशाख १३ गते सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर गएको ६.९ म्याग्निच्युडको परकम्पनले गोरखादेखि सिन्धुपाल्चोकसम्मको करिब १४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरि यस क्षेत्रमा विनास थपेको थियो। भूकम्प र त्यसपछिका ठूला परकम्पहरूसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौं परकम्पहरू एवम् हजारौंको सङ्ख्यामा अरू ससाना परकम्पहरूले नेपालको मध्य भागलाई कम्पीत र त्रसित तुल्याएको थियो।

गोरखा भूकम्प गएको १८ औं दिन वैशाख २९ गते दोलखाको सुनखानी केन्द्रविन्दु बनाइ ७.३ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प गएको थियो।

गोरखा भूकम्पको ४५ दिनसम्ममा नेपालमा ४ देखि ५ म्याग्निच्युडका ४०६, ५ देखि ६ सम्मका ३७ र ६ देखि ७ सम्मका ४ वटा परकम्पहरु गएका थिए। गोरखा भूकम्पका कारण नेपालमा ८ हजार ९७० जनाको मृत्यु भएको थियो। यो भन्दा तीन गुणा मानिसहरु घाइते भएका थिए।

टर्कीएका सानलिर्फ प्रान्तमा २२ घन्टामा एक महिलाको उद्धार गरिएको छ। यस्तै, एक बालकलाई पनि भग्नावशेषबाट निकालिएको छ। छत काटेर, पर्खाल फोरेर मानिसहरुको उद्धार जारी रहेको बताइएको छ। काठमाडौंमा पनि भवनभित्र फसेका शिशुदेखि अरु मानिसहरु दोस्रोतेस्रो दिन उद्धार गरिएको थियो।

सिरियाको तथ्याङ्क लिन अन्तर्राष्ट्रिय मिडियाहरुलाई मुश्किल परिरहेको बताइएको छ। कारण यहाँका कैयान् क्षेत्र बशर अल असाद सरकार र कैयान् विद्रोही सरकारको नियन्त्रणमा रहेको बताइएको छ। सिरिया ११ वर्षदेखि गृह युद्धले थलिएको देश हो। भूकम्पले युद्धग्रस्त सिरियाको जनजीवनलाई थप अस्तव्यस्त बनाएको छ। जाडोका कारण बास व्यवस्थापन मुश्किल भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell