PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

महोत्तरीमा बालिकालाई जबरजस्ती करणीपछि हत्या गर्ने व्यक्तिलाई जन्मकैदको फैसला



पहिलोपोस्ट

महोत्तरीमा बालिकालाई जबरजस्ती करणीपछि हत्या गर्ने व्यक्तिलाई जन्मकैदको फैसला

काठमाडौं : महोत्तरी जिल्ला अदालतले एक बालिकाको हत्या अभियोग लागेका व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाइएको हो।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा साहलाई आजीवन कारावासको सजाय सुनाएको हो। साथै पीडित परिवारलाई एक लाख क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला भएको छ।

विसं २०७७ मङ्सिर ७ गते आइतबारका दिन अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरि घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरेर बोरामा राखेर फालिदिएका थिए। बालिकाको शव मङ्सिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो।

पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास–१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागी मृत्यु भएको थियो।

सोही घटनाको महोत्तरी जिल्ला अदालतमा सोमबार भएको अन्तिम सुनुवाइमा साहलाई अदालतले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell