काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि दरपीठ भएकोमा आज सर्वोच्चले दर्ता गरेको हो।
विश्वासको मत दिएको भएकोले कांग्रेसका संसदीय दलका नेता देउवाले प्रमुख प्रतिपक्षी दलको नेता बन्न नपाउने दाबी रिटमा गरिएको छ। यसैगरी रिटमा देउवालाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्राप्त हुने कुनै सेवा सुविधासमेत नदिन माग गरिएको छ। 'प्रधानमन्त्रीलाई विश्वासको मत दिएको मितिबाट संसदमा नेपाली कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको कानून बमोजिम प्रतिनिधिसभाको सभामुखले प्रमुख विपक्षी दल तोक्ने व्यवस्था भएको हुनाले संसद सचिवालयले लगाइदिएको विपक्षी दलको ताजलाई खारेज गरी नेपाली काँग्रेस संसदीय दल नेता वा विश्वासको मत दिएका अन्य दलका नेतालाई प्रमुख विपक्षी दलको नेताको रुपमा संवैधानि परिषदको बैठकमा उपस्थित हुन रोक लगाउन संसदमा प्रमुख विपक्षी दलको नेताको कुनै पनि भूमिका नदिन,' रिटमा भनिएको छ, 'संसद सचिवालयबाट प्राप्त हुने सेवा सुविधासमेत उपलब्ध नगराउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनी प्रस्तुत निवेदन लिई आएको देखियो।'
संसद सचिवालयलाईसमेत विपक्षी बनाएर दर्ता रिटको भोलि पेशी हुने कार्यतालिका रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भन्दै कांग्रेसको आलोचना हुँदै आएको छ।