PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

निर्देशक र लेखकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने अवस्था किन?



पहिलोपोस्ट

निर्देशक र लेखकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने अवस्था किन?

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लेखक तथा निर्देशकलाई विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म किन नचलेको भनि प्रश्न गरेकी छिन्।

चलचित्र निर्देशक समाजले यूएनडीपीसँग मिलेर गरेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्म्स्’ शीर्षकको दुई दिने सेमिनारको उद्घाटन कार्यक्रममा उनले विदेशी फिल्म चलिरहेको बताउँदै नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको बताइन्।

‘मैले चलचित्र उति सारो बुझेको छैन तर प्रशस्त हेरेकी छु। अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ। तर, यो अवस्थाको अन्त्य हुन जरुरी छ। नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्ड र मन्त्रालयले के गर्न पर्ने हो? छलफल गरौँ,’ उनले भनिन्।

उनले नेपाली फिल्मको संख्याभन्दा पनि क्वालिटी बढाउने काम गर्नुपर्ने र जलवायु परिवर्तन जस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधीकरण हुने धारणा राखिन्।

उनले भनिन्, ‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा गीत संगीत र फिल्मको ठूलो योगदान छ। अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पुर्‍याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ। अहिले माघमै गर्मी भएको छ। यसको कारण के हो, हामी पर्दामा हेर्न उत्सुक छौँ।’

सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय सिनेमा बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि नेपाली सिनेमा प्रतिस्पर्धी बन्नु पर्ने बताएकी थिइन्। यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अगाडि बढाउने बताउँदै चलचित्र ऐन संसद्मा लैजाने तयारी गरिरहेको उनले जानकारी दिइन्।

मंगलवारदेखि सुरु भएको सेमिनारमा पहिलो दिन यूएनडीपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिए। मंगलवार यूएनडीपीकी नेपाली प्रतिनिधि आइसानी लोबे, यूएनडीपीकै सञ्चार प्रमुख कमल सिग्देल र कलाकार नीर शाहले जलवायु परिवर्तनको भयावह अवस्थालाई प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell