बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि बुधवार उपनिर्वाचन हुँदैछ। आगामी १ वर्षका लागि हुने उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार छन्।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए।
एमालेका केन्द्रीय सदस्य दशौदीको समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल बसेका छन्। कांग्रेसका आचार्य रोल्पाका पूर्व जिल्ला सभापति हुन्। उनको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी बसेका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन्।
राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउने कानुनी व्यवस्था छ। राष्ट्रियसभामा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ।
लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१८ र प्रदेश सभामा ८७ सांसद छन्। यसरी हेर्दा उपनिर्वाचनमा ३०५ मतदाता रहेका छन्।
कूल मतभार ८ हजार १ सय हुन आउँछ। लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन्।
८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्। स्वतन्त्रमा तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका हुन्।
पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्ने तयारी छ। एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि खाली रहेको सिटका लागि उपनिर्वाचन हुन लागेको हो।