बुटवल : लुम्बिनी प्रदेशमा एकजना राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले पहिलो मतदान गरेका छन्।
मतदान सहज बनाउन दुई वटा मतदान केन्द्र निर्धारण गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन्। मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ।
राष्ट्रिसभा सदस्य चयनका लागि प्रदेशका कुल ३०५ मतदाताले मतदान गर्ने छन्। लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य र २१८ जना स्थानीय पालिका प्रमुख तथा उपप्रमुख रहेका छन्।
नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि खाली रहेको सिटका लागि उपनिर्वाचन भएको हो। जसका लागि एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबिच प्रतिस्पर्धा हुँदैछ।
मतदान सकिएलगत्तै मतगणना सुरू हुने र एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने सूचना अधिकारी कुँवरले बताए।