दक्षिण अमेरिकी मुलुकहरु अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेले सन् २०३० को फिफा विश्वकपको संयुक्त आयोजनाका लागि दाबेदारी दिने भएका छन्। यो संस्करणसँगै फिफा विश्वकपको १०० औं वर्षमा प्रवेश गर्नेछ।
फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेमा भएको थियो। यी चार देशका प्रतिनिधिले मंगलवार दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) का अध्यक्ष अलेजान्द्रो डोमेनगुइजलाई भेटेर विश्वकप फुटबललाई 'जन्मस्थानमा फर्काउने' चर्चा गरेका थिए।
'२०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १०० वर्षको लागि मान्यताको साथ उत्सवको हकदार छ,' अलेजान्द्रोले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्।
फिफाले अर्कोवर्ष २०३० को विश्वकप आयोजकको टुंगो लगाउने तालिका छ। यो संस्करणको विश्वकप आयोजना गर्न स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त बिडिङ गर्ने बताउँदै आएका छन् भने अर्कोतर्फ साउदी अरेबिया, मोरोक्को, ग्रिस र इजिप्टले पनि आफ्नो संयुक्त दाबेदारी प्रस्तुत गर्दै आएका छन्।
हरेक चार वर्षमा आयोजना हुँदै आएको फिफा विश्वकपको पछिल्लो संस्करण कतारमा सम्पन्न भएको थियो।