टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने संख्या साढे ८ हजार नजिक पुगेको छ। सिरियामा समेत गरी हालसम्म ८ हजार ३०० बढीको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ।
भूकम्पमा परी टर्कीएमा ५ हजार ८९४ र सिरियामा २ हजार ४७० गरी ८ हजार ३६४ जनाको हालसम्म मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेको सङ्ख्या अकल्पनीय रूपमा बढ्ने डर बढिरहँदा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले २० हजारसम्मको ज्यान गएको अनुमान गरेका छन्।
हालसम्म ८ हजार भन्दा बढी मानिसहरुको भत्किएको भवनबाट उद्धार गरिएको टर्कीएका उपराष्ट्रपति फुआत ओक्टेले बताएका छन्। करिब ३ लाख ८० हजार मानिसहरूले सरकारी आश्रय तथा होटलहरूमा शरण लिएका छन्।
टर्कीएमा सोमवार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि पनि पटक-पटक ठूला परकम्पहरु भएका थिए।
सोमवार बिहान सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गजिएन्टेप शहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
टर्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० शहर प्रभावित भएको बताएका छन्। मन्त्री सोयलुले निकै चिसो तापक्रममा बाँचेकाहरूको खोजी तथा उद्धारका लागि आगामी ४८ घण्टा ‘महत्त्वपूर्ण’ हुने बताएका छन्।
स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा धेरै परकम्पहरू आएका कारण मानिसहरूलाई अपार्टमेन्ट ब्लकहरूमा बस्न प्रतिबन्ध लगाएका छन्।
भूकम्पका कारण दुवै देशमा कयौं भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेका छन्। दुवै देशमा गरि हजारौं मानिस घाइते भका छन्। लेबनान र साइप्रसमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
हाल भूकम्पपछि राहत र उद्धारको कार्य भइरहेको छ। टर्कीएमामात्रै ९ हजारभन्दा बढी व्यक्ति उद्धारकार्यमा खटिएका छन्। विभिन्न देशहरुले उद्धारमा सहयोग गर्न विशेष टोली पठाएका छन्।